अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट विल्सनलाई

काठमाडौं, २६ असोज । सन् २०२० को नोबेल अर्थशास्त्र पुरस्कार पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई दिने घोषणा सोमवार गरिएको छ ।

सोमबार रोयल स्विडि एकेडेमी अफ साइन्सेजले एक कार्यक्रमका बीच यस वर्षको अर्थशास्त्रतर्फको पुरस्कार अर्थशास्त्रीद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा दिने घोषणा गरेको हो ।

दुई अमेरिकी अर्थशास्त्रीहरु पल मिलग्रोम र रोर्बट विल्सनले अर्थशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गरेका छन् । लिलामी सिद्धान्त (अक्सन थ्यौरी) मा योगदान दिए वापत उनीहरुलाई नोबल पुरस्कार प्रदान गरिएको हो ।

लिलामीले विभिन्न उत्पादन, कला, वस्तुहरु लगायत बेच्न सघाउँछ । यसमा विल्सनले किन खरिदकर्ताहरु आफूले खरिद गर्न लागेको वस्तुको आफूले सोचेको वास्तविक मूल्य भन्दा कम कबोल्छन् भन्ने सन्र्दभमा सिद्धान्त विकास गरेका थिए । मिलग्रोमले भने लिलामीमा भाग लिने खरिदकर्ताहरुको व्यक्तिगत मूल्य एकआपसमा कसरी फरक हुन्छ भन्नेमा अध्ययन गरेर सिद्धान्त विकास गरेका थिए ।

यी सिद्धान्तहरुले लिलामीमा नयाँ ‘र्फम्याट’ विकास गरेको बताइएको छ ।यी दुई प्राज्ञहरुले आधारभूत सिद्धान्तबाट शुरु गरेको र त्यसबाट प्राप्त नतिजालाई व्यवहारिक प्रयोगमा ल्याएको पुरस्कार कमिटिका अध्यक्ष पिटर फेड्रिक्सनले जारी गरेको प्रेस रिलिजमा उल्लेख गरिएको छ ।

मिलग्रोम सन् १९४८ मा अमेरिकाको डेट्रोइटमा जन्मेका थिए । उनले अमेरिकाको स्टान्फर्ड विश्वविद्यालयबाट सन् १९७९ मा विद्यावारिधी गरेका थिए । यसैगरी विल्सन सन् १९३७ मा स्वीट्जरल्यान्डको जेनेभामा जन्मिएका थिए । उनले आफ्नो अध्ययन अमेरिकाको हार्वड विश्वविद्यालयबाट गरेका हुन् ।

नोबेल पुरस्कार सन् १९०१ देखि दिइन थालेको भए पनि अर्थशास्त्रतर्फको पुरस्कार भने सन् १९६९ बाट दिइन थालेको हो । सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंक स्वेरिएस रिसबांकद्वारा स्थापित यो पुरस्कार पहिलो पटक अर्थशास्त्रीद्वय रागनार फ्रिस्च र जान टिन्बरजेनलाई दिइएको थियो ।

यो वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमलाई प्रदान गर्ने निर्णय भएको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here