नवनियुक्त तीन मन्त्रीले लिए शपथ, प्रचण्डलगायतका नेताहरु सहभागी भएनन्

काठमाडौं, २९ असोज । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीवार आयोजित विशेष समारोहका बीच नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले बुधवार विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त गरेकी थिइन् ।

यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षाबाट प्रधानमन्त्री कार्यालयमा तानिएको छ भने पार्वत गुरुङ महिला मन्त्रालयबाट सञ्चारमा सरुवा भएका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना लगायत उपस्थित थिए ।

कोरोना संक्रमणलाई कारण देखाउँदै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सपथ ग्रहण समारोहमा सहभागी भएनन् ।

मन्त्रीहरुको नियुक्ति तथा हेरफेर नेताहरुसँग सहमति नगरी तथा स्थायी समिति र सचिवालयको स्प्रिट विपरित गरेको भन्दै प्रचण्ड लगायतका नेताहरुले असन्तुष्टि जनाइसकेका छन् ।

शपथपछि मन्त्रीहरूले आजै सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्दै छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here