विष्णुमतीदेखि सागसम्म : कीर्तिमानी सन्तोषी

– जितेन्द्र खनाल

स्वयम्भूको गीतामाता स्कुलमा पढ्दा उनले सब थोक गरिन । वादविवाद र हाजिरीजवाफमा दोस्रो अनि कविता, निबन्ध र वक्तृत्वकलामा तेस्रो पुरस्कार जितिन् ।

तर विष्णुमतीको किनारमा आयोजना गरिएको दौडमा भने स्याण्डिल र भाइको ट्र्याक लगाएरै कुदेकी उनले प्रथम स्थान हासिल गरिन् । त्यसबेला उनलाई थाहा थिएन, उनको जीवनको परिभाषा त्यही १ हजार ५ सय मिटरको दौडले निर्धारण गरिसकेको रहेछ ।

विष्णुमती किनारमा दौडेको करीब १३ वर्षपछि उनले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा १० हजार मिटर दौडमा स्वर्ण जितिन् । उनी अर्थात् सन्तोषी श्रेष्ठ ।

अर्थात् देशका लागि एथलेटिक्समा अन्तरराष्ट्रिय स्वर्ण जित्ने पहिलो महिला खेलाडी । गत मंसिरमा काठमाडौंमा आयोजित सागमा उनले मात्र १० मिलिसेकेण्डको अन्तरले स्वर्ण हासिल गरेकी थिइन् ।

तर त्यो विजयले उनको जीवनमा भने कैयौं वर्षको अन्तर सिर्जना गरिसकेको छ । उनी अब धादिङ, सुनखानीकी सन्तोषीबाट राष्ट्रिय व्यक्ति बनिसकेकी थिइन् । एथलेटिक्समा रेकर्ड बनाएको केही दिन त सामाजिक सञ्जालका टाइमलाईन नै सन्तोषीमय बनेका थिए ।

अकल्पनीय खुशी

राष्ट्रलाई उनले दिएको त्यही योगदानलाई कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले हालै उनलाई ‘राष्ट्रिय खेलकुद प्रतिभा सम्मान २०७७’ दिएको छ ।
मेरो हालसम्मको जीवनको खुशीको उत्कर्ष यही हो शायद, हर्षित हुँदै उनले भनिन् ।

कक्षा छ पढ्दासम्म खेलकुद बाहेक अन्य सबै विधामा भाग लिएकी र पुरस्कार पनि जितेकी सन्तोषी श्रेष्ठले खेलकुदमा देशको लागि स्वर्ण पदक ल्याउला भनेर कल्पना पनि गरेकी थिईनन् । तर, खेलकुद भन्दापनि पढाईमा नै धेरै ध्यान दिने उनले १३ औं सागमा देशका लागि १० हजार मिटरको दौडमा स्वर्ण पदक जितेर रेकर्ड बनाईन् ।

करीब २७ वर्षअघि धादिङको चैनपुर गा.वि.स सुनखानी (अहिलेको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६) मा जन्मिएकी आठ वर्षको उमेरमा नै काठमाडौं आउनु आइन् ।

पढ्नु नै जीवनको एकमात्र लक्ष्य बनाएर काठमाडौं आएकी सन्तोषीको भविष्य भने २०६२ सालको विष्णुमती किनरमा आयोजित स्कुलस्तरीय दौडले निर्धारण गर्‍यो । स्वयम्भूको गीतामाता स्कूलमा ६ कक्षामा पढ्दै गर्दा भाग लिएको १ हजार ५ सय मिटरको त्यो दौड उनको जीवनको पहिलो दौड थियो ।

अचम्म ! जीवनको पहिलो दौडमै उनले सबैलाई पछि पारिन् । साथीहरुको करकापमा सहभागी भएको दौडमा प्रथम भएपछि सन्तोषी उत्साहित त थिईन् तर, त्यो बेलासम्मपनि दौडमा म राम्रो गर्नसक्छु, दौड मेरो क्षेत्र हो भनेर सोचेकी सम्म पनि थिईनन् ।

स्कुल स्तरीय दौडमा प्रथम स्थान हासिल गरेपछि झण्डै एक वर्षसम्म चुपचाप बसेकी उनका लागि दोस्रो पटक दौडने मौका २०६३ सालमा मात्रै मिल्यो । २०६३ सालको उपत्यकाव्यापी रनिङको लागि विद्यार्थी पठाईदिनुस् भनेर गीतामाता स्कूलमा आएको त्यो सूचना उनको सम्झनामा अझै ताजै छ ।

‘हामी कक्षामा पढिरहेका थियौं, यत्तिकैमा एकजना सर आएर उपत्यकाव्यापी रनिङको लागि आएको सूचना पढ्नुभयो । त्यसपछि स्कुलमा छलफल भएछ । म दौडमा प्रथम भएको कारण मेरो नाम पनि त्यो लिस्टमा राखिएको रहेछ,’ उनले भनिन् ।

उपत्यकाव्यापी दौडका लागि स्कुलबाट धेरैले नाम टिपाएपछि त्यसमा पनि प्रतिस्पर्धा गराउने र पहिलो, दोस्रो र तेस्रो हुने ३/३ जना केटा र केटीलाई दौैडमा पठाउने स्कूलले निर्णय गर्यो । र, एकवर्षपछि पनि उनै सन्तोषी प्रथम भईन् ।

‘मलाई अझै याद छ, सूचना आएसँगै स्कुल ड्रेसमै विष्णुमती खोलाको किनारमा दौड भयो, र म यसमा पनि प्रथम भए, योसंगै उपत्यकाव्यापी दौडको लागि छानिएँ ।’ विष्णुमति उनका लागि शुभ रहेछ ।

हारबाट शिक्षा

स्कूलबाट छानिएपछि उनी उपत्यकाव्यापी रनिङ प्रतियोगितामा पुगिन् । विना कुनै अभ्यास प्रतियोगितामा पुगेकी उनीत्यहाँ भने पाँचौं भईन् । त्यो दौडमा कुनै पुरस्कार नपाएकी श्रेष्ठले दौड सम्बन्धी शिक्षा भने प्रशस्तै पाईन् ।

हारले उनलाई निराश बनाउन सकेन । उनको उत्साह कायमै रह्यो । ‘मलाई सरहरुले पनि राम्रो गर्यौ भन्नुभयो । म आफूलाई पनि लाग्यो कि मैले कुनै अभ्यास नगर्दा त पाँचौं भए भने राम्रोसँग अभ्यास गरें भने अझ राम्रो नतिजा ल्याउन सक्छु,’ उनले भनिन् ।

उपत्यकाव्यापी रनिङ प्रतियोगितापछि भने त्यतिधेरै समयको ग्याप भएन् । चार महिना, छ महिनाको ग्यापमा सन्तोषीले दौड प्रतियोगितामा भाग लिईरहिन् । नौ कक्षामा पुगेपछि भने उनले दौडको लागि पनि यतिधेरै अभ्यास गर्नुपर्ने रहेछ भन्ने कुरा थाहा पाइन । नभए त आफ्नै सुरमा उनी कति दौडिइन्, दौडिइन् ।

अध्ययन समय

एसएलसी दिएपछि एक महिनासम्म निरन्तर अभ्यास गरिरहेकी सन्तोषीले उच्च शिक्षाको लागि भर्ना भएपछि भने दौडलाई चटक्कै छाडिन् । उनले ११ र १२ कक्षाको विचमा एउटा मात्रै दौड प्रतियोगितामा भाग लिइन् ।

तर, स्नातक पढ्न थालेपछि भने उनले स्वअभ्यासलाई ध्यान दिईन् । बालाजु वरीपरीका सडक आफ्नै रफ्तारमा नापिन् । स्नातक सकेपछि भने दौडमा मात्रै ध्यान केन्द्रित गरिन् । विगत तीन वर्षदेखि उनले आफूलाई पूर्ण रुपमा दौडमा होमेकी छिन् ।

‘म तीन वर्षदेखि दौडमा धेरै लागेकी छु । मैले यो तिन वर्षमा प्रशिक्षकको भनाई अनुसार नै अभ्यास गरिरहें । यस विचमा धेरै सफलता पनि हात पारें, धेरै ज्ञान पाएँ ।’

दुई वर्षमै स्वर्ण

१३औं दक्षिण एसियाली प्रतियोगिता सागमा किर्तिमानी स्वर्ण पदक जितेर सन्तोषीले नेपाललाई ठूलै गुन लगाईन् । १० हजार मिटरको दौडमा उनले जितेको स्वर्ण छोटो दुरीमा महिलाले जितेको पहिलो स्वर्ण थियो ।


हेर्ने, सुन्नेका लागि खुशी र गर्व दिएको त्यो सफलता त्यति सजिलै आएको भने कहाँ हो र ? दुईवर्षको कठोर साधनाले त्यो उपलब्धी हात परेको हो ।

‘१३ औं सागमास्वर्ण पदक जितेको क्षण मेरो जीवनको अविस्मरणीय क्षण हो । यसको लागि मैले दुई वर्षसम्म निकै मेहेनत गरेकी थिएँ । त्यो स्वर्णमा मैले दौड सुरु गरेको समयदेखिको अनुभव जोडिएको छ,’ उनले बताईन् ।

आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद साग उनको जीवनको सबैभन्दा स्वर्णिम क्षण हुन् । १० हजार मिटरको दौडमा प्रथम भएकी उनी ५ हजार मिटरमा भने ४ औं स्थानमा चित्त बुझाउन बाध्य भईन् ।

त्यो हारले पनि धेरै कुरा सिकाएको उनको अनुभव छ । अन्तरराष्ट्रिय प्रतियोगिताको अनुभवको कमीका कारण म पदक पाउनबाट वञ्चित भएकी हुँ जस्तो लाग्छ, उनी भन्छिन् ।

परिवारको साथ

अन्य खेलमा जस्तो धेरै खर्च नलाग्ने र पढाईलाई पनि सँगै लैजान सकिने भएकाले सन्तोषीले परिवारमा अप्ठ्यारो झेल्नु परेन । काठमाडौंमा दाजुभाईसंग बसेको कारण पनि दबाब नभएको बुझाई उनको छ ।

परिवारमा बुबा आमासंग बसेको भए कुनै न कुनै रुपमा दबाब आउनसक्ने संभाना भने थियो । ‘दाईले मलाई धेरै सहयोग गर्नुभयो । पढाईको किरा भएर मात्रै हुँदैन् पढाई संगसंगै अन्य कुरामा पनि ध्यान दिनुपर्छ भन्नुहुन्थ्यो,’ उनले भनिन् । उनका दाजु केदार श्रेष्ठ नेपाली नाट्यजगतमा परिचित सर्जक तथा कलाकार हुन् ।

परिवारबाट भन्दापनि आफन्तबाट केही मात्रामा दबाब व्यहोर्नुपरेको अनुभव भने उनीसँग छ । तर, आफन्तबाट अलि पर बसेर अध्ययन र खेललाई अघि बढाएका कारण ती कुराले त्यत्ति असर भने छाडेनन् ।

पढाई र खेलकुद संगसंगै

गीतामाता स्कूलबाट एसएलसी, काठमाडौं भ्याली कलेजबाट प्लस टु, लिटिल बुद्ध कलेज अफ हेल्थ साइन्सबाट व्याचलर र त्रिभुवन विश्वविद्यालयबाट जन प्रशासनमा मास्टर्स गरेकी उनले पढाई र खेलकुदलाई सँगसँगै लगिरहेकी छिन् । ‘जन प्रशासन’मा कोरोनाभाइरस महामारीका कारण रोकिएको नतिजाको पर्खाईमा छिन् भने ‘पब्लिक हेल्थ’मा मास्टर्स गर्ने तयारीमा छिन् ।

दुवै क्षेत्रलाई सँगै लैजादासमस्या आएको अनुभव भने सन्तोषीसँग छैन् । ‘एउटै विषय वा क्षेत्रमा मात्रै केन्द्रित भएर काम गर्दा केही सहज त अवस्य नै हुन्छ तर, दुईवटै क्षेत्रमा लागेपनि मैले अहिलेसम्म ठूलै समस्या भोगेकी छैन, उनी भन्छिन् ।

प्रतियोगिता र परीक्षा एकैपटक परेको अवस्थामा समेत त्यसको महत्वको आधारमा कुनै एकको छनोट गर्नसक्ने खुबी उनीसँग छ ।
१३ औं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकी श्रेष्ठलाई अहिलेसम्म गृह जिल्ला, नेपाल सरकार, गीतामाता स्कूल, विभिन्न संघसंस्थाहरु, राजनीतिक दलहरुले सम्मान गरिसकेका छन् ।

खेलकुद मन्त्रालयले दिएको ‘राष्ट्रिय खेलकुद प्रतिभा सम्मान २०७७’ जीवनको सबैभन्दा ठूलो सम्मान रहेको श्रेष्ठ बताउँछिन् । यसका अलावा उनीखेलाडी मञ्च एनएनआईसीएले प्रदान गर्ने उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा पनि परेकी छिन् ।

यस्तो छ सन्तोषीको योजना

पछिल्लो समय खेलकुद अभ्यासमा नै व्यस्त रहेकी सन्तोषी आगामी दिनमा खेलकुदको क्षेत्रमा आफ्नो क्षमता झनै बढाउने योजनामा छिन् । एसियाली खेलकुद र ओलम्पिकमा राम्रो प्रर्दशन गर्ने योजना बनाएकी उनीअध्ययनअध्यापनलाई पनि महत्वका साथ अघि बढाउन चाहन्छिन् ।

‘आफ्नो क्षमता भएसम्म र दौडन सक्ने समयसम्म त म दौडिरहन्छु, र यसका साथसाथै मेरो पढाईको क्षेत्रलाईपनि संगै अघि बढाउछु,’उनले भनिन् ।
यो क्षेत्रमा स्वतन्त्र रुपमा आउन चाहेका र आइसकेका अरुलाई सहयोग गर्ने इच्छा पनि उनको छ ।


1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here