पुनरकर्जाको लागि पुन:आवेदन माग, यी हुन पुनरकर्जा पाउने उद्यम व्यवसाय

काठमाडौं, १७ पुस । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि पुन: आवेदन माग गरेको छ । राष्ट्र बैंकले पुस १७ गते शुक्रबार एक सूचना प्रकाशित गर्दै एकमुष्ट पुनरकर्जा पुन आवेदन माग गरेको हो ।

राष्ट्र बैंक बैंकले इजाजतपत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमूष्ट रूपमा प्रदान हुने पुनरकर्जा माघ १६ गतेसम्म एकमुष्ट पुनरकर्जाका लागि आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकले हालै मात्र ल्याएको ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७’ अनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु घरेलु तथा साना उद्यम, विशेष र साधारण पुनरकर्जाका लागि आवेदन माग गरेको हो ।

राष्ट्र बैंकले पुनरकर्जाको यसअघिको व्यवस्था खारेज गर्दै साउनबाट नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७ लागु गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरेको कर्जालाई नै धितो मानेर राष्ट्र बैंकले ती बैंक तथा वित्तीय संस्थाहरुलाई पुनरकर्जा दिनेछ ।

यसअघिको पुनरकर्जा व्यवस्थामा ग्राहक ऋणीअनुसार मात्रै पुनरकर्जा प्रदान हुँदै आएकामा अहिले पुनरकर्जाको कुल सीमामध्ये ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट आवेदन लिएर एकमुष्ट रुपमा उपलब्ध गराउने २० प्रतिशत ग्राहक ऋणीअनुसार प्रदान गर्ने र १० प्रतिशत लघुवित्तमार्फत प्रदान गर्ने गरी कार्यविधिमा व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले ३ प्रकारका कर्जामा पुनरकर्जा सुविधा उपलब्ध गराउनेछ । यसमध्ये लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग २ प्रतिशत व्याज लिनेछ भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग ५ प्रतिशत व्याज लिन पाउने छन् ।

यस्तै, विशेष पुनरकर्जामा राष्ट्र बैंकले १ प्रतिशत व्याज लिनेछ भने बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग ३ प्रतिशत व्याज लिन पाउने छन् । साधारण पुनरकर्जामा राष्ट्र बैंकले ३ प्रतिशत व्याज लिन्छ भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग ५ प्रतिशत व्याज लिनुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले माग गर्ने कुल पुनरकर्जा रकम सो संस्थाको प्राथमिक पुाजीको २५ प्रतिशतसम्म मात्रै हुनुपर्नेछ । आवेदनको लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि कम्तिमा पनि १ वर्ष बाँकी रहेको हुनुपर्ने शर्त राष्ट्र बैंकको छ ।

एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणीको हकमा भने ऋणी स्वयम्ले म यो बैंक वा वित्तीय संस्थाबाट मात्रै पुनरकर्जा सुविधा लिन्छु भनेर जानकारी गराउनु पर्नेछ ।

यसरी लिइने पुनरकर्जाको अवधि बढीमा १ वर्षको मात्रै हुन्छ । र, यस्तो कर्जा नवीकरण हुदैन । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी राष्ट्र बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा १ वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि ६ महिना अवधिको हुनेछ ।

यस्तो अवस्थामा पाइँदैन पुनरकर्जा

व्यक्तिगत प्रयोजनमा लिएको ओभरड्राफ्ट कर्जा, घरजग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जा पुनरकर्जा मानिने छैन।

व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगारमूलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्र प्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य नमानिने राष्ट्र बैंकले जनाएको छ।

यस्तै पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्विटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जामा पुनर्कर्जा दिइने छैन।

चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य उद्योग व्यवसायमा पनि यस्तो सुविधा छैन। मदिरा तथा मदिराजन्य उद्योग/व्यवसायमा प्रवाहित कर्जा र बैंकले समयसमयमा तोकेका अन्य कर्जालाई पुनर्कर्जा नदिइने राष्ट्र बैंकले जनाएको छ।

यस्ता व्यवसायीले पाउछन् पुनरकर्जा

पुनरकर्जा कार्यविधि अनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत विशेष र साधारण पुनरकर्जा इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट १५ लाखसम्म कर्जा पाउने छन् ।

यस्तो कर्जा हाल सञ्चालनमा रहेका उद्यम, प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका उद्योग, प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू, वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु, कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण, बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यमीले पाउने छन् ।

यस्तै, विशेष पुनर्कर्जा अन्तर्गत हाल सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू, न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू, रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु, वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु , कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जावालाहरुले पाउनेछन् ।

यसैगरी साधारण पुनर्कर्जाका अन्तर्गत जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगहरुले पाउनेछन् ।

यसैगरी, पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू, कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले यस्तो पुनर्कर्जा पाउनेछन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको अति प्रभावित र मध्यम प्रभावित व्यवसायी क्षेत्रको सूचि

(अ) अति प्रभावित क्षेत्र

१. पर्यटनः
(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र र्याफ्टिङ्ग, क्याम्पिङ्न, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्ट्रां, पर्यावरणीय पर्यटन, बन्यजन्तु आरक्ष,
(ग) सांहसिक पर्यटनः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर न्याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइड, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, कवलकार
२. हवाई तथा पर्यटकीय यातायातः
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेसस
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल
५. रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा)
६. मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरणः
७. कुखुरापालन व्यवसाय
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय
१०.वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।

(आ) मध्यम प्रभावित क्षेत्रः

१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम र स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय
२. नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि-स्कुल, चाइल्ड केयर
३. यात्रुवाहक स्थल यातायात
४. व्यूटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
५. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय
६. अस्पताल, क्लिनिक, नरसिंगहोम, डायग्नोस्टिक सेन्टर
७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
८. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण वन तथा खनिजजन्य उद्योग
१०. निर्माण व्यवसाय
११. औषधि उत्पादन
१२. छपाइ, प्रकाशन तथा सचार गृह
१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
१४. पत्थर, माटा तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here