‘हवाई कम्पनी बन्द हुँदैनन्, संकट जित्दै हामी उठ्छौं’

कोरोना भाइरसको महामारी र यसको नियन्त्रणका लागि सरकारले लिएको कदमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो नागरिक उड्डयन । त्यसमा पनि नियमित उडान हुने सुगमका गन्तब्यमा उडाउने कम्पनीले सहजै यात्रु पाएका छन् ।

तर, दुर्गम भेगमा उडाउने कम्पनीलाई अहिले पनि समस्या जारी छ । लुक्लामा यात्रु छैनन् । सिमकोटमा समेत यात्र नहुँदा जहाजले पर्याप्त पाहुना पाएका छैनन् ।

कोरोना भाइरसको महामारीका बीच दुर्गम भेगमा उडान भर्ने हवाई कम्पनी सीता एयरले सामना गर्नु परेका समस्या, त्यसको समाधानमा कम्पनीले खेलिरहेको भूमिका र अब योजनासहितका विषयमा क्लाउड पत्रिका डटकमका जितेन्द्र खनालले सीता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यसँग गरेको कुरामानीको सारः

कोरोना महामारीपछि सीता एयरको समग्र अवस्था के छ, कसरी सञ्चालन गर्दै हुनुहुन्छ ?

समग्रामा हेर्दा हाम्रो र संसारका अन्य वायुसेवा कम्पनीहरुको अवस्था एउटै हो । विगत नौं महिनाभन्दा बढी समयदेखि कोरोना संक्रमणको असर विश्वका सबै वायुसेवा कम्पनीलाई परेको हो । नियामक निकायका नाताले नेपाल नागरिक उड्ययन प्राधिकरणले प्रत्येक महिना परिस्थितीको अध्ययन गर्दै निर्देशन दिईरह्यो । त्यसले हामीलाई पनि सहज बनायो ।

कोरोनाको कारण सीता एयरलाई असर परेको क्षेत्र भनेको पर्यटकीय क्षेत्रमा मात्रै हो । तर, अन्य दुर्गम क्षेत्रको उडानमा त्यति ठूलो असर परेको छैन । केही पर्यटकीय क्षेत्रको उडानलाई छाड्ने हो भने कोरोना महामारीका बीचमा पहिले र अहिलेको अवस्थामा कुनै परिवर्तन छैन ।

यसबीचमा सीता एयरले आंकलन गरेको क्षति कति हो ?

क्षतिको वास्तविक आंकडा वार्षिक प्रतिवेदन निकालेपछि नै थाहा हुनेछ । हाम्रा कम्पनीको समग्रमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै १५ करोडले आम्दानी घटेको आकलन गरेका छौं ।

यसबिचमा धेरै समस्या भए होला, कर्मचारीलाई कसरी व्यवस्थापन गर्नुभयो ?

कोरोनाको समयमा समस्या त प्रशस्तै आयो, त्यसमा पनि कर्मचारीसंग सम्बन्धित समस्या धेरै आए । हाम्रा जहाज दुर्गममा मात्रै उड्छन् । यस बिचमा हामीले पाइलटहरुसँग नै छलफल गरेर को जाने को फर्कने भन्ने विषयमा धेरै छलफल गर्यौं । यसमा समस्या के भयो भने हाम्रो जहाज नेपालगञ्ज गयो, पाइलट तथा इन्जिनियर पनि त्यहाँ जानुभयो ।

तर, फर्केर आउँदा सामाजिक समस्या भयो । टोल छिमेकले घर जान नदिने, रिर्पोट नेगेटिभ नआई गाउँमा जान नदिने जस्ता समस्या कर्मचारी खटानका क्रममा देखिए । यसबीचमा प्रत्यक्ष सहभागितामा बसेर छलफल गर्न पाइएन । व्यापारमा परेको असर त स्वभाविक रुपमा हामीलाई पनि पर्ने नै भयो ।

असोज ५ पछि क्रमशः आन्तरिक उडान खुकुलो हुँदै गयो, अब सामान्य बनेको हो ?

हामी दुर्गममा मात्रै उडान गर्ने भएको कारण लकडाउनको अवस्थामा पनि हामीलाई खास्सै ठूलो असर परेन । लकडाउन भएको एक हप्तापछि सडक यातायात पनि ठप्प भयो, मान्छे पनि हिड्न बन्द भयो । जसको कारण कर्णालीमा खाद्यान्नको संकट हुने खतरा सुरु भयो । कर्णालीमा समस्या परेका कारण कर्णाली सरकारकै पहलमा दुर्गम ठाउँमा खाद्यन्न पुर्याईदिन पर्‍यो भन्ने सूचना आयो ।

जसको कारण लकडाउन भएको एक हप्ता पछि नै हामीले जहाज उडाउन सुरु गरिसकेका थियौं । फरक यत्ति हो, यसअघि मान्छे उड्ने सीटमा खाद्यन्न जान्थ्यो । यसका अलवा गृह मन्त्रालयको अनुमति लिएर सरकारी कर्मचारी, परिक्षणमा जाने चिकित्सक र परिक्षण गरिएको स्वाब पनि ओसार पसार गर्नुपर्ने भएको कारण हाम्रा उडान रोकिएनन् । त्यसकारण लकडाउनले हाम्रो कम्पनीलाई अन्य क्षेत्र जस्तो प्रभाव पारेन ।

एयरलाइन्स कम्पनी पनि त मर्जरमा जान सक्छन् नी, अहिलेको संकटले यस्तो सम्भावना छ ?

हरेक संकटले एउटा सम्भावना उत्पन्न गराउछ । त्यसकारण सम्भावना नै छैन त भन्न मिल्दैन । तर, सम्भावना चाँही छ । यसमा मैले यति नै भने ।

नयाँ जहाज, नयाँ गन्तब्य बिस्तारको योजनामा हुनुहुन्छ ?

कोरोना संक्रमण नआएको भए हामी यो वर्ष नयाँ जहाज ल्याएर बजार विस्तारको योजनामा काम गरिरहेका थियौं । हाम्रो लक्ष्य एटीआर जहाज भित्राउने थियो । मन्त्रालयले पनि स्वीकृति दिई सकेको थियो । प्राधिकरणमा निवेदन समेत दिइसकेका थियौं । कोरोना संक्रमणको कारण हाम्रो योजना केही पछि धकेलिएको छ । तर, योजना भने जारी नै छ ।

यूरोपेली यूनियनको कालोसूचीले के असर गर्ला ?

हाम्रो कम्पनीको मात्रै कुरा गर्ने हो भने त यसले खासै असर गदैन । अन्तराष्ट्रिय उडान गर्ने कम्पनीलाई भने यूरोपमा प्रतिबन्ध हुन्छ । तर, यसले नेपाल आउने पर्यटकको संख्यामा त्यतिधेरै कमी आउछ जस्तो चाँही लाग्दैन । किनभने, सन् २०१३ मा पनि त यूरोपेली यूनियनले कालो सूचीमा राखेको थियो ।

त्यो समयदेखि बिचमा २०१७ मा बाहेक कोरोना संक्रमणभन्दा पहिलेको समयसम्म पर्यटक आगमन बढेको थियो । अध्यागमन र पर्यटन बोर्डको तथ्यांकले त्यस्तै देखाउछ । त्यसकारण यूरोपबाट आएनन् भने अन्य स्थानबाट आउछन् । त्यसकारण पर्यटन संख्यामा त असर पर्दैन, तर यताबाट उडान भर्न र व्यापार विस्तार गर्नमा भने यसले पक्कै असर गर्छ ।

लामो समय पर्यटक नआएमा नेपालका हवाई कम्पनी बन्द हुने अवस्था आउन सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

पर्यटक नआएको कारण हामीले लुक्लाको उडान भर्न पाएका छैनौं । व्यापारमा भने पक्कै असर गर्छ । तर, उडानमा असर गर्दैन । अन्तराष्ट्रिय कम्पनीलाई भने उडान र व्यापार दुवैमा असर पर्छ ।

पर्यटक नआए हवाई क्षेत्र बन्द हुन्छ भन्ने प्रश्नमा भने नेपालको आन्तरिक हवाई भाडाले निर्धारण गर्छ । त्यो भाडा समायोजन समय सापेक्ष गरिएन भने, सञ्चालनमा कठिनाई हुन्छ । तर, अहिलेको अवस्थामा मलाई बन्द नै हुन्छ जस्तो त लाग्दैन् । तर, यस्तै अवस्था २/४ वर्षसम्म पनि कायम भयो भने के हुन्छ भन्न सकिदैन ।

दुर्गम भेगको उडान कतिको सन्तोषजनक छ ?

हामी शुद्ध दुर्गममा मात्रै उडान गर्ने वायुसेवा भएको कारण दुर्गमको उडानबाट हामी मान्छेमात्रै लादैनौं, खाद्य सामग्री, विरामी र कर्मचारी ओसारपोसार पनि गछौं । त्यसकारण दुर्गमको उडानबाट हामीले समाजमा केही सहयोग गर्न पाएका छौं है भन्दा अत्यन्त सन्तोषजनक लाग्छ ।

हामीले समयमा खाद्यन्न र विरामी ओसारपसार नगर्ने हो भने त्यहाँको अवस्था जटिल हुन्छ, त्यसकारण पैसा लिएर गरेपनि यो सामाजिक काम नै हो । त्यसकारण यो जिम्मेवारी पूरा गर्न भएकोमा असाध्यै खुसी लाग्छ ।

तर, नीति नियमको सन्दर्भमा कुरा गर्दा भने असन्तुष्टि छ । दुर्गममा उडान भर्ने वायुसेवा कम्पनीको लागि समय अनुसार नीति परिमार्जन हुनु पर्यो । सरकारबाट बनेका नियम व्यापारमैत्री नहुँदा धेरै समस्या आउने गर्छ । त्यसकारण हामी जस्ता जोखिममा उडान गर्ने कम्पनीसंग परामर्श गरेर समय अनुसार नीति नियम परिस्कृत गर्नुपर्छ ।

दुर्गममा उडान गर्दाको समस्याचाँही के के छन् ?

दुर्गमको उडानमा समस्या धेरै छन् । मौसमको पुर्वानुमान कठिन हुन्छ । अहिलकति चिसो बढ्यो भने हिमाली भागमा हिउ परिहाल्छ, तराईको भागमा कुँहिरो लागेको हुन्छ । विमानस्थलको सुविधा सेवाग्राहीले पाएका छैनन । त्यो समस्या त हाम्रो मात्रै होईन नि । सरकारको पनि समस्या हो । त्यसकारण सरकारले तत्कालै गर्नु पर्ने काम मौसम पुर्वानुमान प्रभावकारी बनाउनु हो ।

अन्त्यमा हवाई क्षेत्रले सरकारबाट के अपेक्षा गरेको छ ?

हवाई क्षेत्र के हो भन्ने कुराको उत्तर सरकारसंग अहिलेसम्म छैन । पर्यटन उद्योग हो की यातायात हो की के उद्योग हो त । उद्योग विभागमा दर्ता गर्नको लागि यसको स्पष्ट परिभाषा छैन । जसले गर्दा राष्ट्रिय स्तरको नीति बनाउन समस्या भएको छ । हामीलाई पर्यटन मन्त्रालयमा राखिएको छ ।

मन्त्रालयले आफ्नो नीति बनाउँदा पर्यटन क्षेत्र मात्रै विकास गर्ने नीति बनाउछ । त्यस्तै, प्राधिकरणले हवाई नीति बनाउँछ । अमेरिका, भारत तथा अन्य विभिन्न देशमा हवाई क्षेत्रलाई यातायात क्षेत्रमा राखेका छन् । पानीजहाज, सडक, रेल हवाई क्षेत्रपनि यातायात हो भन्ने अन्य देशको मान्यता छ ।

त्यसकारण हाम्रो देशमा पनि हवाई क्षेत्रलाई पर्यटन क्षेत्रबाट निकालेर यातायात क्षेत्रमा राख्नुपर्छ । कुन क्षेत्र हो भनेर खुलाउन किन आवश्यक छ भने, हामीलाई पर्यटन उद्योग भन्छन् भने हामी पर्यटन उद्योगको सुविधा लिन जादाँ सरकारले दिँदैन । जबकी, ट्राभल एजेन्सी पर्यटन उद्योग हो, हामी एयरलाइन्सले आफ्नो कर्मचारी र पाइलट ओसारपोसार गर्न किनेको गाडीलाई हरियो नम्बर प्लेटमा चलाउन पाईंदैन ।

तर, ट्राभल एजेन्सीले पर्यटक ओसारपसारको लागि लिएको गाडी हरियो नम्बर प्लेटमा गुडीरहेका छन्, किनभने त्यो पर्यटन उद्योगमा आउछ । तर, हामी पर्यटन मन्त्रालय अन्तरगत भएरपनि पर्यटन उद्योग होईन । यो विडम्बना हो । त्यस कारण उद्योगको कित्ता सरकारले खुलायो भने हामीलाई सेवा विस्तार गर्न मद्दत पुग्थ्यो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here