माओवादी लडाकुदेखि साग स्वर्णसम्मको यात्रा

जितेन्द्र खनाल

काठमाडौं । न खेलाडी बन्ने सपना थियो , न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा, दुब्लाउनकै लागि सिकेको करातेले जिवनको बाटो मोडिदियो ।

अहिले आफ्नै विगतबारे सोच्दा अनुपमा मगरलाई सपना झैं लाग्छ ।

दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जितेकी उनी १२ वर्षको कलिलो उमेरमा माओवादी कायकर्ता बनेर भूमिगत जिवनमा प्रवेश गरेकी थिइन् ।

उनले कहिल्यै कल्पनासम्म गरेकी थिइनन् की खेलकुदले आफूलाई यतिसम्म परिवर्तन गर्छ भनेर ।

नृत्य र गायनमा निकै शोख राख्ने उनी ५ कक्षामा पढ्दा पढ्दै तत्कालीन नेकपा माओवादी जनयुद्धमा होमिएकी थिइन् ।

पढाईलाई चटक्कै छाडेर छापामार बनेकी तिनै अनुपमाले १३ औं दक्षिण एसियाली खेलकुदमा ६८ केजी तौल समूहको कराते प्रतियोगितमा नेपालको लागि स्वर्ण पदक जितिन् । तर यस्तो अविश्वसनीय यात्रा सहजै कहाँ सम्भव भएको थियो र ?

अविश्वसनीय यात्रा

वि.सं २०४८ मा उदयपुर जिल्लाको लेखानीमा जन्मिएकी अनुपमा ज्यामिटार स्कुलमा कक्षा ५ मा पढ्दा पढ्दै माओवादी युद्धमा होमिएकी हुन् ।

गाउँगाउँमा गाउदै नाच्दै हिड्ने माओवादीको समूहले उनलाई आर्कषित गर्यो । अनि उनी रहरमै त्यता लागिन ।

माओवादी युद्धमा लाग्नुअघि अनेक सपना मनमै फुल्थे, ओइलाउँथे । गाँउमा मान्छे–मान्छेबीचको विभेद, छुवाछुतले मन पिरोल्थ्यो उनको । सोच्थिन कसले बनायो होला यस्तो रीति ?

उनलाई लग्थ्यो, यो मान्छे–मान्छेबीचको विभेद हटाउनै पर्छ । महिला र पुरुषबीचको भेद भने थाहा पाउँँथिन उनी । गाउँमा ज्याला मजदुरी गर्ने महिला र पुरुषको ज्याला बराबरी थिएन । एउटै काममा लोग्ने मानिसले धेरै ज्याला पाउँथे भने महिलाले थोरै पाउँथे ।

१२ वर्षकी किशोरीको मनमा प्रश्न उठ्थ्यो उस्तै श्रम गर्दा पनि किन फरक । त्यसैले होला माओवादीले विभेद हटाउने एजेन्डा राखेर शुरु गरेको जनयुद्धले उनलाई आकर्षित गरेको । त्यसैले आफ्नो वरीपरी हुने प्रायः सभा समारोहमा उनी पुगिहाल्थिन् ।

पाँच वर्ष माओवादी युद्धमा बिताएकी उनी शान्ति प्रकृया शुरु भएपछि भने माओवादीबाट टाढै बसिन् । ‘१२ वर्षको केटाकेटी उमेर स्कुलमा, गाउँमा आएर नाचगान गर्नुहुन्थ्यो, हामीलाई पनि रमाईलो लाग्थ्यो ।

एक प्रकारको रहरले नै भनौं, हामी त्यसैमा लाग्यौं,’ उनले भनिन् । अहिले उनलाई राजनीतिमा भने खासै चासो नरहेको बताउँछिन् । जनतालाई बाँडेको सपना पूरा नगरेकोमा उनी खिन्न छिन् ।

कराते यात्रा

न खेलाडी बन्ने सपना थियो, न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा, दुब्लाउनकै लागि सिकेको करातेले उनको जिवनको बाटो मोडिदियो ।

माओवादीबाट अलग्गिएपछि केही समय खाली बसेकी उनी २०६५ सालबाट कराते खेल्न थालिन् । शारीरिक रुपमा मोटो भएको कारण तौल घटाउनको लागि उनले कराते रोजेकी थिइन् ।

‘म मोटी थिएँ । कराते खेलेपछि तौल घट्छ भनेर दुई नम्बर डिभिजनमा कराते खेल्न गए । त्यपछि के भयो कुन्नी मैले कराते छोड्न सकिन,’ अनुपमाले सुनाईन् ।

कराँते के हो यसमा के के हुन्छ भन्ने कुराको बारेमा कुनै जानकारी नभईकनै यस खेलमा लागेकी अनुपमाको लागि सातौं डिभिजनको खेलकुद केन्द्रले कराँतेको लागि गरेको छनोटले उनको कराते यात्राको शुभारम्भ गरिदियो ।

उनलाई शुरुमा कराते के हो, यसमा के के हुन्छ भन्ने समान्य जानकारी समेत थिएन । सातौं डिभिजनको खेलकुद केन्द्र धुब्र मल्ल गुरुले हेर्नुहुन्थ्यो । यसरी सातौं डिभिजनको खेलाडी छनोट गर्ने क्रममा करातेबाट म छानिएर आएँ । छनोट भएर खेलकुद केन्द्रमा आएपछि त्यहाँको माहोल छुट्टै थियो । त्यहाँ मैले कराँतेसम्बन्धी धेरै कुरा थाहा पाएँ, उनले भनिन् ।

११औं सागको लागि भएको छनोट खेल अनुपमाको जीवनको पहिलो कराते प्रतिस्पर्धा थियो । उनी त्यसमा पराजित भईन् । र त्यहि पराजयले उनलाई कराँतेमा लाग्न झनै प्रेरित गर्यो ।

१३औं सागमा स्वर्ण

साग प्रतियोगिताको छनौट खेल्दै आएकी अनुपमाको सपना साग प्रतियोगिता खेल्ने र पदक जित्ने थियो । १३ औं सागको लागि ६८ केजी तौल समुहको कराते प्रतियोगितामा उनी छनोट भइन ।

१३औं सागअन्तर्गत सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको समूह चरणको खेलमा श्रीलंकाकी विजेकुनमाथी ७-४ अंकको जित निकाल्दै अनुपमाले फाइनलमा पाकिस्तानकी नर्गिससंगको भेट पक्का गरिन् । नर्गिस बंगलादेशकी खलाडीमाथि सहज जित निकाल्दै फाइनलमा पुगेकी थिईन् ।

फाइनलमा एसियन पदक बिजेता समेत रहेकी नर्गिससँगको त्यो खेल र त्यसमाथि पाएको विजयलाई अनुपमा कहिल्यै बिर्सन सक्दिनन् ।

‘फाइनल खेल, त्यसमाथि आफ्नै घरेलु मैदानमा भएको । आफ्नो अघि एसियाली खेलमा समेत पदक जितिसकेकी खेलाडी थिइन, दबाब त थियो । तर, मैले नर्गिसलाई फाइनलमा पराजित गरेर एसियाली खेलको बदला समेत लिएँ,’ उनले सुनाईन ।

फाइनलमा पाकिस्तानकी खेलाडी नर्गिसलाई हराइन्। जसलाई उनले ६-३ ले हराउँदै स्वर्ण जितिन्।

फाइनल बिजेता भएसँगै अनुपमाले विभिन्न प्रकारका सम्मानहरु पनि पाईन् । नेपाल पुलिस क्लबले उनलाई सम्मान गर्‍यो । नेपाल सरकारले पनि उनलाई सम्मान गर्‍यो । स्वर्ण प्राप्त गरेको यो पल उनको जीवनको स्वर्णीम पलमध्येको एक हो। यो पल उनले आमासँग साझा गर्न चाहन्थिन्।

छोरीको सफलतामा आमा कति खुसी हुन्थिन्, होला। सबैले अनुपमाको सफलतालाई तालीले स्वागत गरिरहँदा आमा कतै कुनामा बसेर थपडी मार्थिन् होला।

छोरीको सफलतामा दुनियाँ रमाइरहँदा, प्रशंसा गरिरहँदा आमाको छाती गर्वले फुल्दो होला। तर, अफसोश उनकी आमा यो दुनियाँमै छैनन्।

सायद कतै छिन्, अनि छोरीको यो सफलतामा मुस्काउँदै होलिन्।

अबको सपना

निकै लामो समय कराते क्षेत्रमा बिताईसकेकी अनुपमाको प्रशिक्षक वा रेफ्रीको रुपमा बाँकी जीवन बिताउने सपना छ ।

उनी भन्छिन्, ‘मैले मेरो जीवनको महत्वपूर्ण समय कराते खेलमा बिताए । अबको समय कराते खेल्न नसकेपनि कराते प्रशिक्षक वा रेफ्रीको रुपमा काम गर्न चहन्छु । करातेबाट टाढा भएर बस्न सक्दिन होला ।’ गोली र बारूदसँग मितेरी गाँसेकी उनी शान्ति सम्झौतापछि खेल क्षेत्रमा आएकी थिइन्।

उनले आफ्नो विगत भूलेकी छैनन्। नत आफ्नो भविष्यप्रति त्यति ठूलो चिन्ता नै छ। ‘संघर्षका पहाड धेरै चढेँ। अझै संघर्ष गर्छु। देशको नाम विश्वभर चम्काउँछु’, उनको सपना यही हो।

विष्णुमतीदेखि सागसम्म : कीर्तिमानी सन्तोषी


1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here