‘बीमा कम्पनी बीचको मर्जरले सकारात्मक परिणाम दिन्छ’

एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्, कमल गौतम । जन्मस्थान प्यूठानमा प्राथमिक तहको शिक्षा पुरा गरेका गौतमले दाङबाट माध्यामिक तह पास गरे । नेपालगञ्जबाट बीबीए पासगरेपछि स्नातकोत्तरका लागि काठमान्डौं आए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए पासगरेसँगै उनको बैंकिङ करियर सुरु भयो ।

सन् १९९१ मा गौतमले साविकको ग्रिनलेज बैंक (हालको स्ट्याडर्ड चार्टर्ड) बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका हुन् । त्यसपछि हिमालयन, सनराइज बैंकमा विभिन्न तहमा रहेर काम गरेपछि उनी इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने । इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक एनसीसी बैंकसँग गाँभिएपछि गौतमले सो बैंकमा करिब ६ महिना काम गरेपछि २६ वर्षको बैकिङ करियर छोडेर बिमा क्षेत्रमा प्रवेश गरे । उनी गौतमसँग क्लाउडपत्रिकाका सुनिल भट्टराईले गरेको कुराकानी:

२० प्रतिशत नागरिक समक्ष बीमा पहुँच पुगेको तथ्यांकहरु आएका छन् । यो कत्तिको सन्तोषजनक अवस्था हो ?

बीमा दुई प्रकारका हुन्छन् । जीवन र निर्जीवन । बीमा पहुँच २० प्रतिशत पुग्यो भन्ने सन्दर्भमा जीवन बीमाको योगदान धेरै छ । जीवन बीमामा सर्वसाधारणको पहुँच बढेपनि निर्जीवन बीमामा अपेक्षित रुपमा बढ्न सकेको छैन ।

बीमा बजार अलि भिन्न प्रकृतिको छ । बीमाको उपलब्धता बढेर मात्र बीमा पहुँच बढदैन । यो सँगसँगै उद्योगधन्दा, गाडी, मोटरसाइकल, पूर्वाधार विकास र सबै सम्पतीको बीमा अनिवार्य गर्नु पर्छ भन्ने अवधारणा र सो बमोजीम व्यवहार बढेमा मात्र बीमाको आधार पनि बढ्ने हो ।

अझै पनि बाध्यात्मक अवस्थामा बाहेक बीमा गर्नु पर्छ भन्ने चेतना मानिसमा छैन । बीमा बजार छिटो बढ्नलाई सरकारी भवन, कार्यालय, सरकारी सम्पति र पूर्वधारको पनि बीमा गरिनुप¥र्यो नि । वांछित रुपमा त्यो हुन सकेको छैन ।

०७२ को भूकम्पपछि निर्जीवन बीमा बढ्यो भनिन्छ । तपाईंले कस्तो पाउनुभएको छ ?

पक्कै पनि भूकम्प पछि मानिस सजग भए र उनीहरु आँफैले ठूलो धनजनको क्षति आँखै अगाडि देखे । बीमा गरेकाले भौतिक क्षति बापत बीमा कम्पनीबाट दाबी भुक्तानी पाए । त्यसपछि विपत्ति जुनसुकै अवस्थामा आउन सक्छ र बीमा गरेमा जोखिम बहन हुन्छ भन्ने कृुरामा सर्ब साधारण सजग भए । यसले केही हदसम्म भएपनि निर्जीवन बीमाको व्यवसाय विस्तार भएको छ ।

तर, जुन अनुपातमा विस्तार हुनु पर्ने हो, त्यो हुन सकेको छैन । हामीले दुःख छिटो बिर्सिन्छौ । यसकारण विस्तारै ०७२ को विनासकारी भुकम्प र त्यसको क्षतिबारे पनि बिर्सदै छौं । यसकारण जुन गतिमा सम्पत्तिको बीमा बढनु पर्ने हो, त्यो अनुपातमा बढन सकेको छैन ।

बीमा कम्पनीको संख्या बढेपनि त्यहि अनुसार नयाँ ‘प्रडक्ट’ आएन । कम्पनीहरु पुरानै बीमा योजनामा अस्वस्थ प्रतिस्पर्धा गरिरहेको आरोप छ नी ?

बीमा कम्पनी पनि व्यवसाय गर्न बसेका हुन । व्यवसाय गर्दा बजारमा जुन वस्तु को माग छ, त्यहि बस्तु विक्री गर्ने हो । नयाँ वस्तु ल्याउदा नबिक्ने जोखिम पनि त हुन्छ । हामीले बेच्ने प्रडक्ट नियामक निकाय बीमा समितिबाट स्विकृत हुनुपर्छ । हामीले आफुखुसि जथाभावी बीमा लेख बजारमा ल्याउन पाउँदैनौं । तर बजारमा प्रतिश्पर्धा बढेको छ । कम्पनीहरुले नयाँ सोच बनाएका छन् र नयाँ बीमा लेख का बारेमा पनि अध्ययन अनुसन्धान भइरहेको छ ।

बीमा कम्पनी सुविधामुखी भए, गाँउमा गएनन् भन्ने आरोप छ नी ?

बीमा पनि एक प्रकारको व्यवसाय हो जसमा ठूलो जोखिम छ र ठूलो पूँजी लगानी गरीएको छ । त्यसैले पूँजीलाई न्यायोचित प्रतिफल दिनु पर्दछ । यसलाई अन्यथा लिनु हुदैन । कृषि बीमामा सरकारले किसानलाई बीमा शुल्कको ७५ प्रतिशत अनुदान दिदै आएको छ । बीमा कम्पनीहरुले गाँउगाँउमा गएर कृषि बीमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । कम्पनीहरुले सबै जिल्ला भाग लगाएर कृषि बीमा गरेका छन् । यसको आधारमा पनि कम्पनी गाँउ गएनन भन्न मिल्दैन । जहाँ बीमाको आवश्यकता छ बीमा कम्पनी पनि त्यतै व्यवसाय गर्दछन् । विस्तारै बीमाको भौगोलिक दायरा बढ्दैछ अनि बीमा कम्पनीहरु पनि गाऊँ घर तिर छरिदै छन् ।

बीमा समितीले पछिल्लो पटक निर्जीबन बीमा लक्षित गरी सस्तो दरमा सम्पत्ति बीमा ल्यायो त्यसले कस्तो प्रभाव पारेको छ ?

बीमा समितिले जारी गरेको नयाँ सम्पत्ति बीमा लेखले बजारमा एकदमै सकारात्मक प्रभाव पारेको छ । बीमा समितिले ल्याएको बीमा लेखले सबै खालका जोखिमहरु बीमा गर्छ जसले यसअघि हुने गरेका विवादहरु को पनि अन्त्य गरेको छ ।

नयाँ व्यवस्था बाट एक करोड रुपैया सम्मको आवासिय भवन को बीमा एकदमै सस्तो हुन गएको छ । यस्ले अधिकांस निम्न र मध्यम वर्गिय मानिसको आवश्यकता पुरा गर्नुका साथै राहत प्रदान गरेको छ र बीमा लोकप्रीय बनाउन सघाउ पुग्नेछ । तर, ठूला व्यवसायीक बीमा लेखमा तुलनात्मक रुपमा पैसा अलि धेरै तिर्न पर्ने भएकाले सुरुमा केही ग्राहकहरु असहज महसुस गरेका थिए तर अहिले यस मा अन्र्तनिहीत फाइदा का कारणले परिस्थीती एकदमै अनुकुल बनेको छ । यसलाई अझै व्यापक प्रचारप्रसारको जरुरी छ जसले बीमा को पहुच सबै जनमानस मा पुगोस् ।

बीमा कम्पनीको मर्जरको कुरा आएको छ । स्वेच्छिक मर्जर नगरे फोर्स मर्जरको कुरा पनि आएको छ, बीमा कम्पनीहरुले यसलाई कसरी हेरिरहेका छन् ?

हामीले पनि बजारको आकार भन्दा खेलाडी धेरै भएको महसुस गरेका छौं । नियामक निकायले मर्जर गराउने धेरै कारण हुन सक्छन् । नियमन तथा सुपरिवेक्षण प्रभावकारी गर्नका लागि, बजारमा सुशासन आओस्, अवान्छित क्रियाकलाप नहोउन भन्नका लागि पनि समितिले मर्जर नीति ल्याएको हुन सक्छ । बलिया थोरै कम्पनी भए राम्रो सुशासन, स्तरिय सेवा हुन्छ भन्ने समितिलाई लागेको हुनसक्छ । त्यसो हुँदा उपभोक्ताले पनि उचित दरमा राम्रो तथा स्तरिय बीमा सुविधा पाउँछन । यसलाई हामिले सकारात्मक रुपमा लिएका छौँ ।

अर्को कुरा हाम्रो बजार सानो भएकाले धेरै ‘प्लेयरहरु’ हुँदा अस्वस्थ प्रतिस्पर्धा हुन सक्छ र त्यसलाई रोक्न मर्जर राम्रो विकल्प हुन सक्छ । मर्जरले कम्पनी बलिया हुन्छन् र म्यानपावरको कमीको समस्या पनि समाधान हुन्छ । ठूला कम्पनीले कर्मचारीको लागि आँफै प्रशिक्षण केन्द्र चलाउन सक्छन् ।

समग्रमा मर्जर नीति ल्याएर बीमा समितिले राम्रो कदम चालेको हो । तर, कम्पनीलाई मर्जर पछि के सहुलियत दिने, उनीहरुलाई के फाइदा हुन्छ भन्ने बारेमा प्रष्ट हुनुपर्छ ।

बीमा कम्पनीबीच कर्मचारी खोसाखोस गर्ने प्रवृत्ति बढ्यो भन्ने सुनिन्छ सत्य के हो ?

नयाँ बीमा कम्पनीहरुको बजारमा आगमन सगैँ दक्ष जनशक्ति को पनि अभाव देखिएको छ । यस कारणले खोसाखोसकै स्थिति नभए पनि बजारका राम्रा, दक्ष र अनुभवी मान्छेलाई आफ्नोमा तान्ने प्रवृति देखिएको हो । हाल संख्या बढेसँगै दक्ष जनशक्ति नबढेकाले यस्तो अवस्था आएको हो । स्थानीय तहमा जनशक्ति पाउन झनै गाह्रो छ ।

पुँजी बढेपछि शाखाहरु धेरै खोलियो, स्थानीय स्तरमा पनि शाखा स्थापना भइरहेको छ । त्यहाँ पनि जनशक्ति चाहियो त्यसकारण पनि यस्तो स्थिती आएको हो । यसअघि २५ करोड पूँजी भएको कम्पनी एक अर्ब रुपैयाँको पुगेको छ । पुँजी बढेपछि व्यापार पनि चारगुणा बढ्नुप¥र्याे । स्थानीय तहहरुमा जनशक्ति पाउन झनै गाह्रो छ तर, कर्मचारीको समस्या भनेको अस्थायी समस्या हो किनभने सँधैभरी शाखाहरु खोलिरहने कुरा हुदैन । यो दिर्घकालीन समस्या होइन, समयानुसार विस्तारै समाधान हुदैजान्छ ।

नक्कली कागजपत्र देखाएर बीमा दाबी गर्ने मानिस कतिको आउँछन् ?

बीमाको दाबी क्षतिपूर्ती सम्बन्धमा सर्वेयरको धेरै ठूलो भूमिका हुन्छ । सर्वेयरले क्षति भएको हो र यति क्षति भएको भनेर दिएपछि हामीले केहि भन्न मिल्दैन । कहिलेकाँही विमितले पेस गरेका कागजात पुग्दैन, कागजात पूर्ण विश्वास गर्न सकिने अवस्था पनि हुदैन । यसकारण कागजातमा केही गडबड छ भन्ने लाग्यो भने तुरुन्त भुक्तानी दिन सकिदैन ।

जानाजान नक्कली कागजपत्र देखाएर बीमा दाबी भुक्तानी माग्नु पनि एक प्रकारको अपराध नै हो । तर, कानुनन् यस्तो अपराध दण्डनिय हुनु पर्ने मा सामान्य रुपमा लिएको झै देखिन्छ ।

यस्ता नक्कली कागजपत्र बनाएर बीमा दाबी गर्ने व्यक्तिका लागि पनि कानूनको आवश्यकता छ जस्तो देखियो नी ?

नक्कली कागजपत्र प्रस्तुत गर्ने कार्यलाई रोक्ने मात्र नभएर आवश्यकता अनुसार कारवाहीको पनि व्यवस्था गर्नुपर्दछ । यस्तो नक्कली कागजपत्र बनाएर दावी गर्ने अवस्थाले गर्दा सानो दाबी भुक्तानीमा पनि अलि बढि समय लाग्ने गर्छ जसले गर्दा सक्कली कागजात पेश गर्ने बीमितले पनि भुक्तानिका लागि बढि समय कुर्नु पर्ने अवस्था सृजना हुने गर्दछ । त्यसकारण यस्तो नक्कली कागजपत्र बनाएर बीमा दाबी गर्ने लाई उचित कानून बनाइ सजायको भागिदार बनाउनु पर्छ र यस्ता कार्यलाई निरुतसाही गर्न जनचेतना फैलाउने कार्यक्रमहरु समेत गर्नु पर्दछ ।

तपाईंको विचारमा बीमा क्षेत्रलाई झनै राम्रो, सुशासित बनाउने के गर्नुपर्ला ?

पहिलो कुरा त बजारमा कम्पनी र पुँजी थपिएपछि जुन अवस्था आएको छ त्यसलाई कानून मात्र बनाएर समाधान हुँदैन । पूँजी लाई न्याय दिन सक्ने व्यवसायको आकार नपुगे सम्म बजार संयमीत र अनुसासीत गर्न गाह्रो छ ।

यसका लागि सरकार, बीमा समिति र बीमक हरुको सकारात्मक पहल हुन जरुरी छ । समय सापेक्ष बीमा सम्बन्धी कानुन हरुको निमार्ण तथा सुधार हुन जरुरी छ ।

अहिले बीमा क्षेत्रका चुनौतीहरु के के हुन् ?

अहिलेको सबैभन्दा ठुलो चुनौति बजार सानो भएको कारण अस्वस्थ प्रतिस्पर्धा नै हो । पहिले यस्तो थिएन । बजार सानो छ बीमा कम्पनीहरु धेरै छन् । बजार विस्तार गर्नु नै अर्काे चुनौति हो । अर्को कुरा नेपालको बजार सानो छ भनेर अन्तराष्ट्रिय क्षेत्रले त्यति चासो दिँदैन । तर, भुगोलमा सानो भए पनि व्यवसाय विस्तारको सम्भावनाको हिसावले सानो छैन । विश्वका कतिपय राष्ट्र नेपालको जति जनसंख्या र भौगोलिक क्षेत्रफल पनि छैन । तर उनीहरुले ठूलो बजार बनाएका छन् र आफ्नो स्थान बनाएका छन् ।

थोरै व्यक्तिगत प्रश्न गरौं, तपाईंले बैंकमा २६ वर्ष बिताउनुभयो एक्कासी यता आएर एउटा बीमा कम्पनीको नेतृत्व गरिरहनु भएको छ, बैंक र इन्स्योरेन्समा के फरक पाउनुभयो ?

कम्पनीको प्रमुख कार्यकारी अधिकृत को रुपमा कार्यरत भएकोले मुख्यत ःकम्पनीलाई मार्गनिर्देशन तथा व्यवस्थापन गर्ने मुख्य काम भएकोले बैक र बीमा क्षेत्रमा मेरो लागी खासै भिन्नता छैन । तर मानिस जुन कुरामा अभ्यस्त हुन्छ नी उसलाई त्यहि रमाइलो लाग्छ । जस्तै दैनिक दाल भात तरकारी खाने हामी एक दुई दिन अरु चीज खान सक्छौं तर तेस्रो दिनबाट हामीलाई दालभात चाहिन्छ । मलाई पनि बैंकिङ क्षेत्र भनेको दालभात नै थियो । मलाई तुलनात्मक रुपमा यो राम्रो त्यो नराम्रो भन्ने त लाग्दैन् । तर, धेरै समय बिताएको कारण पनि मलाई बैकिङ क्षेत्र सजिलो लाग्छ । बीमा क्षेत्रमा आएको केही समयमात्र भएको छ तर यस क्षेत्रमा पनि नयाँ अनुभव प्राप्त गर्दैछु र २६ वर्षको आफ्नो बैकिङ क्षेत्रको अनुभव यस क्षेत्र तथा यस कम्पनी का लागी लगानी गर्दैछु । समग्रमा नयाँ क्षेत्र नयाँ चुनौति का कारण ले मैले आफ्नो दैनीकीमा नयाँपन महसुस गरेको छु ।

बीमा बजारमा एभरेष्ट इन्स्योरेन्सले कसरी आफुलाई प्रस्तुत गरिरहेको छ ?

नेपाल को अग्रणी व्यवसायी खेतान ग्रुपले प्रबद्र्धन गरेको एभेष्ट इन्स्योरेन्स एउटा पुरानो बीमा कम्पनी हो । हामीले अब २५ औँ वर्ष पुरा गर्दैछौं । कुनै समय नेपालको बीमा क्षेत्रमा अग्रणी कम्पनीको रुपमा चिनिएको कम्पनी हो । बीचमा केही समस्या आए जसले कम्पनीलाई केहि पछि पार्यो तर अहिले ती समस्या समाधान भइसकेका छन् । हामीले धेरै सुधार गरेका छौं । बीमा समितिले निर्दिष्ट गरेको पुँजी पनि पुरा गरेका छौँ ।

म आउँदा ९ वटामात्रै शाखा थिए अहिले ३१ वटा शाखा पुगिसकेको छ र कर्मचारीहरुको संख्या पनि दोब्बर भएको छ । म आएको दुई वर्षमा चौतर्फी सुधार र विकास भएको छ र अझै धेरै काम गर्न बाँकी नै छ जसले गर्दा यो कम्पनी ससक्त रुपमा अघि बढोस् ।

टेक्नोलोजिकल एडभान्समेन्ट लगायत गर्नुपर्ने काम धेरै बाँकी छन् । कर्मचारी तालिम, उनीहरुको गुणस्तस्र अभिबृद्धि, आन्तरिक नियन्त्रण प्रणाली, सुसाशन कायम गर्ने तर्फ धेरै काम गर्दैछौँ ।

समग्रमा, सुसाशन मा रही ग्राहकको विश्वास जितेर अगाडि बढ्ने हाम्रो योजना छ । ग्राहकलाई सन्तुष्ट र विश्वस्त बनाएर उच्च स्तरीय सेवा प्रदान गर्ने गरी योजना बद्ध ढंगले अगाडि बढ्दै छौं ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here