पूर्व महानिर्देशकको अनुभूति -मैले त यति सास्ती भोगे, गरिब जनताको के हाल होला ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरले कोरोना उपचारको लागि आफूले भोग्नु परेको पिडा सामाजिक सञ्जालमा पोखेका छन् ।

नेपालमा कोरोना सक्रमणको दर तीव्ररुपमा बढेसँग अक्सिजन र अस्पतालमा बेड नपाएको समाचार बाहिरिएसँगै उनले आफूले कोरोना संक्रमित भएर उपचार गर्दाको पिडा सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखेका हुन् ।

उनले लेखेका छन्– मेरो घरको तीन जनाको परिवारमा छोरा बाहेक बुढाबुढी दुबैलाई संक्रमण पुष्टी भयो ।

त्यही दिन दुवैजना शसष्त्र प्रहरी बलम्बु अस्पतालमा कार्यरत डाक्टरको रवि भवन स्थित फ्लू क्लिनिकमा जचाउन पुगें ।

डाक्टरले अस्पतालमा बेड नभएकोले घरमै बसी उपचार गनु पर्ने र आपतकालिन स्थितिको लागि अक्सिजनको व्यवस्था समेत गर्ने सल्लाह सहित आवश्यक औषधि र सुझाव दिइ पठाए ।

चौथो दिन श्रीमतीलाई साह्रै भएछ । डाक्टरलाई सम्पर्क गर्ने अनेकौं प्रयास बाबजुद पनि संभव भएन । एकजना आफन्तले चाबहिल मित्रपार्कस्थित एउटा निजी अस्पतालमा बेड खाली छ भनी जानकारी दिए पछि बिहानै श्रीमतीलाई आफैले गाडीमा राखेर अस्पतालतिर लागें ।

तर अस्पतालमा बिरामी मात्र रहेछ चिकित्सक कोही रहेनछ । त्यहांबाट रविभवनस्थित पहिलेकै डाक्टरको क्लिनिकतिर लागें ।

भाग्यवस डाक्टर रहेछन, तर विरामीको भीड लामै रहेछ । एक डेढ घण्टा कुरे पछि बल्ल आफ्नो पालो आयो । औषधि चालुनै छ नआतिनु ठीक हुन्छ भनी डाक्टरले घर फर्काईदिए ।

घरमा पुगुन्जेल एक दिन अघि भतिजाले ल्याईदिएको एउटा अक्सिजन पनि सकिएको रहेछ । मलाई पनि विस्तारै च्यापिएर ल्याईसकेको थियो, अक्सिजन भर्न जाने आंट आएन ।

कहिल्यै यस्तो घरायसी काममा नपरेको छोराले म लिएर आउछु भनी गाडीमा खाली सिलिन्डर राखेर दौड्यो ।

घरमा संक्रमित दुईजना छन् सिलिण्डर एउटैमात्र साह्रै समस्या पर्यो । तै भोलिपल्ट एकजना आफन्तले थप एउटा सिलिण्डरको जोहो गरिदिए ।

तर सानो सिलिण्डर भएको हुँदा छ सात घण्टामै सकिने । छोरा अक्सिजनको लाइनमा बस्दा बस्दा हैरान । राती समेत अक्सिजनको लाईनमा बस्न जानु पर्ने ।

दशौं दिनमा मलाई झन साह्रो हुन थाल्यो । खाएको औषधिले असर गर्न छोडेको थियो । अक्सिजन दिंदादिंदै पनि बढ्न सकेको थिएन ।

म उच्च रक्त चापको विरामी ब्लड प्रेशर घटेर न्यूनत्तम बिन्दुमा पुगिरहेको छ, नाडी अत्यधिक गतिले बढ्दैछ ।

लाग्यो मलाई तुरुन्तै स्टेर्वाइड या रेम्डेसिभिर दिनु पर्दछ । आफ्नो डाक्टरले रेस्पोन्स नै गरेन । के गर्ने, कहाँ जाने कसलाई सोध्ने । साह्रै आतिए ।

यतिकैमा अक्सिजन लेभल ८० भन्दा कम भएर झण्डै बेहोस हुन पुगें । यसरी भएन भनी अफिस गएको छोरालाई बोलाए । गाडीमै अक्सिजन राखेर छोरासंगै अस्पताल चाहर्न थालें ।

सबै अस्पतालहरुमा इमर्जेन्सिमा छटपटिएका विरामीहरुले भरिभराउ । टेक्ने ठाँठ थिएन, बेड खालि हुनेत कुरै थिएन । यतिकैमा चाबहिल मित्रपार्कस्थित पहिले श्रीमतिलाई लिएर गएको त्यहि निजी अस्पतालमा एउटा कोठा खाली भएको जानकारी आए पछि गाडी उतैतिरै लगियो ।

कोठा खाली भईसकेको रहेनछ । इमरजेन्सिको बेडमा सुताउन लगियो । त्यहांको अवस्था देखेर मनै मानेन । बिरामीहरुको लगातारको खोकी, आया र आथा सहितको चित्कारले बरु आफ्नै गाडी भित्र अक्सिजन लिएर बस्छु भनी फर्कें ।

लगातार दुई घण्टा गाडी भित्रै अक्सिजन लिएर बसे पछि बल्ल कोठा खाली भएको जानकारी आयो ।

अस्पतालको क्याविन कोठा भित्र पुगे पछि उपचार सुरु होला भन्थानेको थिएं तर कहां हुनु सबै डाक्टर नर्सहरु आइसियुमा व्यस्त छन् रे भनी त्यही अक्सिजन चढाउनु बाहेक केही गरिएन ।

तीन घण्टा पछि बल्ल डाक्टर नर्सहरु आए । एण्टिबायोटिक इन्जेक्सन दिए, रगत जचाउन पठाए, छातिको एक्सरे लिए ।

म चाहन्थें मलाई तुरुन्तै स्टेर्वाईड देओस् तर दिइएन । रातभरी खोकीले सुत्नै सकिंन । मलाई लाग्यो मेरो अन्तिम क्षणहरु नजिकिंदैछ त्यसैले रातीनै अमेरिका बस्ने आफ्नो छोरीलाई सम्पर्क गरी आफ्ना जरुरी घरायसी कुराहरु जानकारी दिए । केही घरायसी कुराहरुबारे छोरालाई भाईबर मार्फत मेसेज गरें ।

भोलिपल्ट बिहानै देखि मर्नै परे घरैमा गएर मर्छु भनी हस्पिटल डाईरेक्टरलाई फोन गरेर डिस्चार्ज गरिदिन भनी कराउन थालें । मध्यान्ह बाह्र बजे सम्ममा एक्सरे र रगतको रिपोर्ट आईसकेको रहेछ ।

डाक्टर र नर्सहरु आई ढाडस दिन थाले । सायद नसाबाट स्टेर्वाइड पनि दिए क्यारे । डिस्चार्ज गरिदिन डाक्टरहरुलाई बिन्तिभाव, अनुनय बिनय पनि गरें । डाक्टरले माने, डिस्चार्ज गरिदियो ।

काठमाडौंको एउटा सामान्य होटल लजमा हजार रुपैंया नपर्ने एटेज बाथरुम समेत नभएको कोठाको लागि औषधि लगायत भनेर झण्डै रु पचास हजार तिरायो ।

छोरा अक्सिजन सिलिण्डर सहित गाडी लिएर अस्पताल आईपुगे । अस्पतालको सबै प्रक्रिया सकिएर घर फर्किन गाडीमा बसी अक्सिजन लगाएको थिए तर अक्सिजन चुहिएर खाली भईसकेको रहेछ । त्यही हतारमा डाक्टरले लेखिदिएको औषधि नलिईकनै घर फर्कियौ ।

घर बाहिरै मलाई ड्र्प गरी छोरा अक्सिजन भर्न बालाजुमा लाईन बस्न हिंडे । घर भित्र पस्नासाथ श्रीमतीको अक्सिजन थुतेर लगाएं ।

अचानक छात्ती पोलेर फुट्ला जस्तै भयो । खोकीको रफ्तार बढ्न थाल्यो । औषधि ल्याईदिने छोरा अक्सिजनको लाईनमा छ ।

यहि अन्यौलमा मैले करीब एक किलोमिटर टाढा बस्ने मेरा अग्रज तथा मित्र हरिभक्त श्रेष्ठलाई औषधि ल्याई दिन अनुरोध गरें । उहाँले भोली ल्याई दिने कुरा गरे । अरे बाबा म अहिले मर्दैछु तपाई भोली औषधि ल्याई दिने भने पछि उहाँलाई स्थितिको गम्भिर महशुस भएछ ।

मैले प्रेशरकोफोटो खिचेर पठाउन भने । उहाँ तुरुन्तै मोटरसाइकलमा दौडिएर घर सम्म औषधि पुर्यादिनु भयो ।

यसवीच म आतिएर म देखि अढाई किलोमिटर टाढा बस्ने मित्र रतिश सुमनलाई पनि सहयोगको लागि फोन गरें । उहाँले पनि आतिनु पर्दैन जसरी पनि औषधि पुग्छ भनी ढाडस दिए । यी घटनाहरु संक्रमण पुष्टि भएको एघारौं दिनको थियो ।

सांझ सम्ममा अक्सिजन सिलिण्डर भरेर छोरा आईपुगे । तर सानो सिलिण्डर छ सात घण्टा मै सकिने । छोरा पनि हैरान थिए । यसैवीच भोलिपल्ट मित्र अच्यूत हाडाले एउटा अक्सिजन कन्सेन्ट्रेटर उपलव्ध गराई दिएपछि ठूलो राहत मिल्यो ।

हस्पिटलबाट घर फर्के पछि मित्र प्रभा बैद्यकी बहिनी सुमेरु अस्पतालका कन्सल्टायण्ट कार्डियोलजिष्ट डा। रमनी बैद्यसँग भाइबर मार्फत निरन्तर सम्पर्कमा रहें । उहाँले मेरो हरेक जिज्ञासा, अन्यौल र शंका निबारण गरी निरन्तर रुपमा गाइड गर्दै मनोबल बढाउदै लगें ।

औषधि पनि आवश्यकता अनुसार थप घट गर्दै लगे । बिसौं दिनमा हाम्रो पिसिआर नेगेटीभ आएको छ ।

भाईरसले किड्नी तथा लिभरमा नराम्रो असर गर्न पाएको रहेनछ । तर भाइरसको असरको कारण इन्फेक्सन तथा इन्फ्लेमेशनको लेभल उच्च नै रहेछ । जेहोस् डा। रमनीले सबै ठीक हुंदै जान्छ, नआतिनु भनी ढाडस दिएको छ । म तुलनात्मक रुपमा नेपालको एक सावरी साधन सम्पन्न र शिक्षित नागरिक ।

मैले त यस्तो हैरानी व्यहोर्नु पर्यो भने अरु सर्बसाधारण गरीब अशिक्षित जनताले कति दुःख भोगी रहेका होलान् ।

स्थानीय निकाय, सरकारी संयन्त्र त असफल भए तर रेडक्रस, लायन, रोटरी, जेसिज् जस्ता सामाजिक संस्था भनाउँदाहरु पनि कहाँ हराए ।

कोरोनाको विरामीलाई अस्पताल नै भर्ना गर्नु पर्छ भन्ने लाग्दैन तर उसलाई चिकित्सकले निरन्तर रुपमा सल्लाह सुझाव दिई मनोबल बढाई राख्ने हो भने कोरोना सहझ रुपमा जित्न सकिन्छ तर जब उपचार गर्ने चिकित्सले नै उसलाई जवाफ दिंदैन, वास्ता गर्दैन भने विरामी आत्तिनु स्वाभाविक हुन्छ ।

विरामी धेरै भएको कारण डाक्टरहरुको पनि आफ्नै बाध्यता होलान् । मास्टर्स डिग्रिको लागि छोरा बिदेश नगएकोमा म छोरा देखि असन्तुष्ट थिए।

तर आज लाग्यो म भन्दा त छोरा पो बुध्दिमान रहेछ । सम्पूण रुपमा समर्पित भएर छोराले हामी बाबु आमाको सेवा गरे ।

मैले चाहे झैं छोरा बिदेश गएको भए हाम्रो के गति हुन्थ्यो होला । जे होस् भगवानले जे गर्छ ठीकै गर्दो रहेछ । कठिन समयमा मलाई मन बचन कर्मले साथ र सहयो गर्ने चार जना व्यक्ति प्रति म धेरै आभार छु ।


1 COMMENT

  1. नेपाल वायुसेवा निगमको पूर्व महानिर्देशकज्यूले पाउनु भएको दुख सास्तीकाे बयान दर्दानक लाग्याे बयान गरि साध्य छैन । तर यस्तो कठिन अवस्थामा पनि जुन अस्पतालले एक दिनकाे५००००/- लियाे त्यसले के बताउँछ भने अस्पतालहरूले सेवाभन्दा व्यापार गरिरहेको यस्तो जटिल अवस्थामा पनि । वहाँले आफ्नो अनुभव जुन प्रकारले वर्णन गर्नुभएको छ त्याे जाे कसैले सुन्दा सायद वहाँकाे छाेराे वहाँकाे साथमा नभएको भए र त्यस्तो वरआफु बिहाेस जस्तो अवस्थामा पनि वहाँकाे दिमागले अौषधि ल्याई माग्नु भएको , घरमा आउने बित्तिकै आफ्नो श्रीमतीले लगाईराख्नु भएको अक्सिजन थुतेर आफुले लगाउनु भएकोले वहाँकाे आत्मबल र दिमागले सहि काम सहि समयमा गर्नु भएको लाग्याे । अचम्मकाे कुराे त सानाे अक्सिजन त्यै पनि चुएर छिटै सकियाे भन्दा । वहाँलाई व्यस्थित अक्सिजनकाे सिलिन्डर र आफन्ति महिला डाक्टर , अौषधि ल्याईदिनु हुने आफन्त र उच्च शिक्षाको लागि युरोप वा अमेरिका नगएको छाेरा सबै मानिसको रूपमा वहाँकाेलागि साक्षत भगवान हुन। यहाँ काेराेनाले मानिसलाई यति तढपाईरहेकाे छ अर्कोतर्फ एकजना डाक्टर ( खै के डाक्टर हुन कुन्नि ?) यदि नेपालमा काेराेनाले एकजना मात्रै नेपाली मरेको छ भने म झुन्डिएर मर्न तयार छु भन्ने जस्ता अभिव्यक्तिहरूकाे अन्तरवार्ता दिदै हिड्द‌छ । यस्ताहरूलाई एकपटक सरकारले काेराना संक्रमित आइसाेलेसन वाडमा केही दिन राखी दिनुपर्छ अनि थाहा पाउँछ । यस्ताहरूलाई सरकारले कानुनी कारबाही गर्नुपर्छ यिनीहरूले गर्दापनि लापरबाही भएको छ । यस्ताहरूलाई वहाँ पूर्व महानिर्देशक सँग राखेर काेराेना हाे वा हाेइन भन्ने वादविवाद गराउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here