न्यूरोडको कालोपत्रे सडकमा भन्दा धेरै पार्किङको विकल्प महानगरले नि:शूल्क दियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिएको जानकारी गराएको छ । ९ माघदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्प दिएको हो । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार न्युरोडको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको छ । यो संख्या साविक न्युरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङ संख्याभन्दा धेरै हो । अहिले धरहरा पार्किङ भवनमा उपलब्ध गराइएको स्थानमा मात्र पनि १ हजार ५ सय दुई पाङ्ग्रे अट्न सक्छन् ।

‘योसँगै काठमाडौं टावर ९साविक पुरानो बसपार्क०मा ७ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारी पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ । यो निःशुल्क पार्किङ सेवा हो,’ पाण्डेले भने । महानगरको दाबीअनुसार यसबाहेक न्युरोडमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनमा समेत पार्किङ सुविधा छ । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिने व्यवस्था छ ।

पाण्डेका अनुसार आज सोमबार धरहराको पार्किङ भवनमा करिब ९ सय सवारी चालकले निःशुल्क पार्किङ सेवा लिएका छन् । महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय २ पाङ्ग्रे र ३० वटा चार पाङ्ग्रे सवारी पार्किङ गर्न सकिन्थ्यो । जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको कालोपत्रे सडकमा ३ सय दुई पाङ्ग्रे र पाँचवटा चार पाङ्ग्रे, प्युखा १ सय ५० दुई पाङ्ग्रे र ६ चार पाङ्ग्रे, खिचापोखरी १ सय ५० दुई पाङ्ग्रे र १५ चार पाङ्ग्रे र वीर अस्पताल महाबौद्धमा १ सय ५० दुई पाङ्ग्रे सवारी पार्किङ गर्ने क्षमता थियो । महानगरले न्युरोडभन्दा अगाडि बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत ठाउँमा पार्किङ निषेध गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here