भ्रष्ट राष्ट्रको सुचीमै नेपाल, भ्रष्टाचार नियन्त्रणमा कहाँ चुक्यो सरकार !

काठमाडौं। नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकको सूचीमै कायमै रहेको छ । नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक यस्तो देखाएको हो ।

सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०८औं स्थानमा छ । त्यसो त पछिल्ला केही बर्षमा भ्रष्टाचार थोरै मात्रामा भएपनि सुधार भएको भने देखिन्छ। सीपीआई २०२२ मा नेपाल ३४ अंकसहित ११०औं स्थानमा रहेकोमा अहिले १०८ स्थानमा पुगेको हो । जसले नेपालको सुशासनको अवस्था कमजोर रहेको जानकारी दिएको छ ।

१८० देश समेटिएको सूचकांकमा डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ । त्यस्तै सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दरिएका छन् । १८० देशमध्ये सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रमध्ये भुटानले २६औं, भारत ९३औं, माल्दिभ्सले ९३औं, नेपालले १०८औं स्थान पाएको छ ।

त्यस्तै श्रीलंका ११५औं, पाकिस्तान १३३औं, बंगलादेश १४९औं र अफगानिस्तान १६२औं स्थानमा छ । यता चीन ७६औं स्थानमा छ ।

भ्रष्टाचारविरुद्धको जनचाहनालाई सम्बोधन गर्न सरकारले यथाशीघ्र गम्भीर हुन आवश्यक रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले सुझाव दिएको छ । साथै यसका लागि संसद्मा विचाराधीन भ्रष्टाचारविरोधी ऐन कानूनलाई फितलो बनाउने प्रयास रोक्न, राजनीतिक व्यक्तिउपर भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान तथा कारबाही गर्न, सार्वजनिक पदाधिकारीको सम्पत्तिको जाँच गरिने सरकारको प्रतिबद्धता कार्यान्वयन गर्न र राजनीतिक पदाधिकारीले मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट उन्मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्नलगायत सुझाव समेत दिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी नेपालका अध्यक्ष पद्मिनी प्रधानांगले सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल रहेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here