काठमाडौं । आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार यो वर्षकै दोस्रो ठूलो सक्रिय मौसम प्रणाली भित्रिएकाले बिहानैदेखि सुदूरपश्चिमका जिल्लाहरूबाट पानी पर्न सुरु भएको छ। यसले समथर र पहाडी भू–भागमा वर्षा गराउँछ र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात गराउन सक्छ।
मौसमवीदका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भएको वर्षा र हिमपातले तापक्रम समेत घट्न सक्छ।
यस मौसम प्रणालीबारे सचेत गराउन महाशाखाले शनिवार दिउँसो २ बजे नै ‘विशेष बुलेटिन’ प्रकाशित गरेको थियो। पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबारबाट हुने मौसम परिवर्तनले वर्षा, हिमपात हुने र त्यसले तापक्रम घटाउने पूर्वानुमान गरेको थियो।
आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
यसले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह गरेको छ।


























