नेपालमा वर्षेनी २० हजार भन्दा बढीमा क्यान्सर पहिचान, सन् २०५० सम्म ९१ प्रतिशत बढ्ने

काठमाडौं । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ। विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो।

२०२० को तथ्यांकअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश्क डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए । उनले नेपालमा प्रत्येक वर्ष करिव २० हजार जना भन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताए ।

२०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो । नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्रको क्यान्सहरु रहेका छन् ।

अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमा एक हो। विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ।

विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी-डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार नेपालमा हाल रहेका करिब २२ हजार क्यान्सर रोगीहरुको संख्या सन् २०५० सम्ममा ९१ प्रतिशतले बढ्ने अनुमान समेत गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, विश्व स्वास्थ्य संगठनको क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय एजेन्सी आईएआरसीको रिपोर्टलाई आधार मान्दा नेपालमा क्यान्सर रोगको बढ्दो दर डरलाग्दो देखिएको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here