नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा सुधार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा सुधार आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १२.९० प्रतिशतले बढेको हो ।

चालु आवको पुस मसान्तसम्म कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै ५ करोड रुपैयाँ बढी हो ।गत वर्ष पुससम्म कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क, लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।

पुससम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ७.१३ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । लगानी तथा अन्य आयबाट हुने आम्दानी १४.३३ प्रतिशत बढेर ७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, पोलिसी धितोबापतको ऋण लगानीबाट प्राप्त हुने ब्याज आम्दानी २९.३९ प्रतिशत बढेर २ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

हाल ८ अर्ब २० करोड चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियम ४ करोड ३८ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ३ करोड संचित छ । यस्तै, जीवन बीमा कोषमा १ खर्ब ८३ अर्ब र महाविपत्ती कोषमा १ अर्ब ४ करोड रुपैयाँ छ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.२३ रुपैयाँबाट बढेर १०.४२ रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२८.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६२.८४ गुणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here