सार्वजनिक स्थलमा १९५० फोहोर वर्गीकरण बिन सेट राख्दै काठमाडौं महानगर

काठमाडौं । सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ ।

एउटा सेटमा २ वटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो । ‘उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो ।’

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ । महानगरपालिका सबै ठाउँमा एकै पटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकोले नमूनाका रुपमा हामीले वडा २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागेका छौँ । यसका लागि घरदैलो कार्यक्रममार्फत उत्पादकलाई वर्गीकरण विधिमा सचेत गराउँदैछौँ । छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ्ग संकेतसहितको सवारी साधन तयारी गरिसकेका छौँ । घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेका हौँ ।’

यसरी राखिने सेटहरु २ प्रकारका छन् । पहिलो खाले सेट सानो आकारको हो । यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १.२ मिटर उचाइ, १.२३ मिटर चौडाइ र २५.५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् । यसमा राखिने स्ट्याण्डको मूल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मूल्य २ हजार ९५० रुपैयाँ हो । यस्ता बिन ३०० सेट राखिनेछन् ।

मध्यम आकारका सेटमा १.३ मिटर चौडाइ र १.४ मिटर उचाइ भएको स्ट्याण्ड हुनेछ । १२५ लिटर क्षमताका २ वटा बिन राखिनेछन । यसमा प्रयोग हुने स्ट्याण्डको मूल्य ५ हजार ४५० रुपैयाँ र बिनको मूल्य ३ हजार ८९० रुपैयाँ हो । विभागकाअनुसार यो मूल्य कर बाहेकको हो । खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन् ।

बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिएको हुनेछ । यी सेटहरु वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरुको जिम्मामा राखिनेछ । हरेक सेटमा नम्बर दिइएको छ । यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here