नेपालको इतिहासमा नै पहिलो पटक समलिङ्गी महिलाको विवाह दर्ता

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिकामा दक्षिण एसियाकै पहिलो समलिङ्गी (लेस्बियन) महिला-महिलाको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो।

पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र लिएका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले बताए । नेपालीले भने, ‘विवाह दर्ता गरी प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो । समलिङ्गी महिलाको विवाह दर्ता भएको यो पहिलो हो ।’ मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले अन्जु र सुप्रितालाई दक्षिण एसियाकै पहिलो लेस्बियन (महिला समलिङ्गी) जोडी रहेको बताएका छन् ।

३३ वर्षीया दीप्ति श्रेष्ठ र ३३ वर्षीया सुप्रिता गुरुङ, दुवै जन्मँदा महिला हुन् । निर्देशक पन्तले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालबाट दक्षिण एसियाकै पहिलो लेस्बियन जोडीले औपचारिक रूपमा विवाह दर्ता गरी इतिहास रचेका छन् । यो कोशेढुङ्गा मनाउँन आज दिउँसो नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुनुहोस्।’उनीहरूले विवाह दर्ताका लागि ४ माघमा वडा कार्यालयमा निवेदन दिएका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले पञ्जीकरण विभागमा ‘समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा आवश्यक राय तथा निर्देशन उपलब्ध गराइदिनु हुन’ पत्र पठाएका थिए।

सर्वोच्च अदालतले १२ असारमा दिएको आदेश र विभागको पत्र अनुसार यसअघि लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो पटक माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो। माया र सुरेन्द्र जन्मँदा छोरा हुन भने दीप्ति र सुप्रिता दुवै छोरी हुन्। दुवै जोडी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here