टेलिकमको खुद नाफा ७.६ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी ४३.६८ रुपैयाँ

काठमाडौं । नेपाल टेलिकमको खुद नाफा गिरावट आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७.६ प्रतिशतले घटेको छ ।

चालु वर्षको पुस मसान्तसम्म टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३२ करोड रुपैयाँ कम हो । गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी घट्दा खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४.५९ प्रतिशत घटेर १७ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिमा कम्पनीको यस्तो आम्दानी १८ अर्ब ७ करोड रुपैयाँ थियो ।

कम्पनीको अन्य आम्दानी भने ५६७.३८ प्रतिशतले बढेर ४४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । कुल आम्दानी ३.५८ प्रतिशतले घटेर २१ अर्ब ३० करोडमा सीमित भएको छ ।

हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७२ अर्ब ६७ करोड रुपैयाँ संचित छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३.५९ रुपैयाँ घटेर ४३.६८ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.६२ गुणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here