नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक, ३१ कम्पनी उत्कृष्ट समूहमा (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । सूचीकृत कम्पनीहरुको वर्गीकरण बिहीबार नेप्सेमा सार्वजनिक गरेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म अद्यावधिक विवरण सार्वजनिक गरिएको नेप्सेले जानकारी दिएको छ ।

सार्वजनिक गरिएको वर्गीकरणमा परेको संस्थाहरुले उल्लेखित समूहमा पर्नु नपर्ने कारण सहित ३५ दिनभित्र दावी गर्न सक्नेछन् । धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरूको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार जम्मा ३१ वटा अर्थात् ११.४३ प्रतिशत कम्पनी मात्रै उत्कृष्ट अर्थात् ‘ए’ वर्गमा परेका छन् । त्यस्तै, ३५ कम्पनी ‘बी’ वर्ग र ७० वटा ‘जी’ वर्गमा परेका छन् । नेप्सले वर्गीकरणमा डिबेञ्चर र म्युचुअल फण्डलाई भने समावेश गरेको छैन ।

नेपाल धितोपत्र बोर्डको नियमावलीमा अनुसार कम्पनीहरूलाई ए, बी, जी र जेड गरी चार वर्गमा वर्गीकरण गरेको हो । ‘ए’ वर्गमा परेका कम्पनीलाई तुलनात्मक रुपमा उत्कृष्ट कम्पनी मानिन्छ भने ‘जेड’ समूहमा परेकालाई खराब कम्पनी मानिन्छ ।

नेप्सेले कम्पनीको चुक्ता पूँजी, धितोपत्र सूचीकरणको अवधि, लाभांश वितरण, क्रेडिट रेटिङ्ग, नियम परिपालना लगायतको आधारमा कम्पनीहरूको वर्गीकरण सार्वजनिक गरेको हो ।

कम्पनीको रेटिङको वैधानिकता सकिएको र कतिपय कम्पनीले समयमै साधारणसभा नगरेकाले खराब समूहको सूचीमा परेका हुन् । बजारमा राम्रा कम्पनी मानिएका र उच्च सेयर मूल्य भएका कम्पनीहरू समेत खराब कम्पनीको सूचीमा परेका छन् । बजारमा राम्रा कम्पनी मानिएका र उच्च सेयर मूल्य भएका कम्पनीहरू समेत खराब कम्पनीको सूचीमा परेका छन् ।

ए वर्गमा पर्ने अधिकांश बैंकहरू

‘ए’ वर्गमा पर्ने अधिकांश कम्पनी बैंक तथा वित्तीय क्षेत्रका रहेका छ । नेप्सेका अनुसार ‘ए’ वर्गमा ८ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ६ लघुवित्त संस्था, ३ वटा हाइड्रोपावर, लगानी र उत्पादनमूलक समूहका २/२ वटा र फाइनान्स, इन्स्योरेन्स र अन्य समूहका १/१ वटा कम्पनी परेका छन् ।

नेप्सेका अनुसार एभरेष्ट, सिटजन, ग्लोबल आइएमई, नबिल, नेपाल एसबीआई, सानिमा, सिद्धार्थ र स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘ए’ समूहमा परेका छन् । त्यसैगरी, विकास बैंकतर्फ गरिमा लुम्बिनी, महालक्ष्मी, मितेरी, मुक्तिनाथ, सांग्रिला, साइन रेसुंगा डेपलपमेन्ट बैंक उत्कृष्ट समूहमा परेका छन् ।

त्यस्तै, आइसीएफसी फाइनान्स, छिमेक, फर्स्ट, जीवन विकास, एनआइसी एशिया, साना किसान र स्वाबलम्बन लघुवित्त ‘ए’ वर्गमा परेका छन् । बीमातर्फ नेपाल इन्स्योरेन्स मात्रै उत्कृष्ट समूहमा परेको छ । हाइड्रोतर्फ बुटवल पावर, सानिमा माइ र चिलिमे जलविद्युत् समूह ‘एमा परेका छन् ।

त्यस्तै, शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रीलरी, नेपाल दूरसंचार कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एयड डेभलपमेन्ट र नेपाल इन्फ्रास्ट्रक्चर बैंक उत्कृष्ट कम्पनीको सूचीमा परेका छन् ।

त्यसैगरी, समूह ‘बी’ मा ७ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ६ वटा फाइनान्स, २ वटा लघुवित्त र १४ वटा हाइड्रोपावर रहेका छन् ।

त्यस्तै, खराब वर्ग अर्थात् समूह ‘जेड’ मा ४ वटा वाणिज्य बैंक पनि परेका छन् । कृषि विकास, कुमारी, प्रभु र इन्भेष्टमेन्ट मेगा बैंक खराब समूहमा परेका छन् ।

खराब समूहमा पर्नेमा धेरैजसो हाइड्रोपावर र लघुवित्त कम्पनीहरू छन् । जेड समूहमा ७ विकास बैंक, १३ फाइनान्स कम्पनी, ३६ लघुवित्त, १९ बीमा कम्पनी, २८ हाइड्रोपार र बाँकी अरु क्षेत्रका कम्पनी छन् ।

कस्ता कम्पनी कुन वर्गमा पछन् ?

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार चुक्ता पूँजी १ अर्ब रुपैयाँ भएका, सूचीकरण भएको तीन वर्ष पुगेमा, तीन वर्षदेखि लगातार नाफामा रहेको र लाभांश बाँडेको भएमा समूह ‘ए’ मा पर्न सक्छन् ।

त्यस्तै, क्रेडिट रेटिङ कम्पनीबाट आधारभूत पक्ष औसतभन्दा माथिको रेटिङ पाएका, समयमै साधारणसभा गरेका र तोकेको ढाँचामा वित्तीय विवरण प्रकाशित गरेमा पनि समूह ‘ए’ मा पर्न सक्छन् ।

यस्तै, चुक्ता पूँजी ५० करोड, सूचीकरण भएको ३ वर्ष पुगेमा, लगातार दुई वर्ष नाफामा भए, आधारभूत पक्ष औसतभन्दा एक स्तरसम्म तल भएका, समयमै साधारणसभा गरेका र सञ्चित नोक्सानी नभएका कम्पनीहरू पनि समूह ‘बी’ मा पर्छन् ।

सूचीकरण भएको दुई वर्ष नपुगेका कम्पनीहरू ‘जी’ समूहमा पर्छन् भने ए, बी र जी समूहमा नपर्ने कम्पनी स्वतः जेड समूहमा पर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here