नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने, लगानीको आकार १ खर्ब २५ अर्ब

काठमाडौं, ३० भदौ । नागरिक लगानी कोषका लगानी कर्ताले २२ प्रतिशत बोनस शेयर पाउने भएका छन् ।

सोमबार सम्पन्न कोषको आर्थिक बर्ष २०७४/०७५ को वार्षिक साधारण सभाले सभाले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिशत नगद लाभांस पारित गरेको हो ।
यो कोषको २४ औं साधारण सभा हो ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले आर्थिक वर्ष २०७४/७५ मा कुल लगानी १६.६९ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ६ अर्ब ९७ करोड ६२ लाख पुगेको बताए ।

कोषको शेयर पुँजी, जगेडा रकम तथा विभिन्न कार्यक्रमहरुबाट संकलित रकम आव २०७३/७४ मा रु.९१ अर्ब ६७ करोड ३६ लाख लगानी भएकोमा २०७४/७५ मा कुल लगानी १६.६९ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ६ अर्ब ९७ करोड ६२ लाख पुगेको हो ।

कोषको लगानीलाई विविधीकरण गर्दै लैजाने सन्दर्भमा लगानी नीति, २०७५ अन्तर्गत मुद्दती निक्षेप, सरकारी ऋणपत्र, बैंक तथा वित्तीय संस्थाहरुको डिवेन्चर तथा वण्ड, संगठीत संस्थाको धितोपत्र, समयकालीन कर्जा र सहभागी सापटी तथा आवास कर्जामा समेत लगानी गर्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा कोषले रु.७० करोड २८ लाख कुल आम्दानी गरेकोमा रु. २० करोड ५२ लाख सञ्चालन तथा अन्य खर्च भई कर पछिको खुद मुनाफा रु. ३५ करोड ९२ लाख रहेको छ ।

कोषको आर्थिक वर्ष २०७४/७५ को करपछिको खुद नाफा रु.३५ करोड ९२ लाख र आर्थिक वर्ष २०७३/७४ को बाँडफाँड गर्न बाँकी मुनाफा रु. १ करोड ८१ लाख समेत गरी बाँडफाँड योग्य रकम रु. ३७ करोड ७३ लाख रहेको छ ।

उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार रु.७ करोड १८ लाख ४६ हजार साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आ.व. २०७४/७५ मा २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि छुट्टयाइएको) वितरणको लागि शेयरधनी समक्ष स्विीकृतिको लागि प्रस्ताव गरिएको छ ।

२०७६ असार मसान्तसम्ममा कोषको बचत परिचालन उच्चदरमा वृद्धि भएको छ । २०७५ असार मसान्तसम्ममा रु.१ खर्ब ११ अर्ब ७३ करोड रहेको कोष संकलन २०७६ असार मसान्तसम्ममा १०.२३ प्रतिशतले वृद्धि भई रु.१ खर्ब २३ अर्ब १६ करोड (अपरिस्कृत वित्तीय विवरण अनुसार) पुगेको छ ।

२०७५ असार मसान्तसम्ममा कोषले विभिन्न क्षेत्रमा गरी रु.१ खर्ब ६ अर्ब ९७ करोड ६२ लाख लगानी गरेको थियो भने २०७६ असार मसान्तसम्ममा यस्तो लगानी अघिल्लो वर्षको तुलनामा १६.७४ प्रतिशतले वृद्धि भई रु.१ खर्ब २४ अर्ब ८७ करोड ९९ लाख पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here