एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा अन्त्यतिर रोड्रिगोले गोल गरेपछि म्यानचेस्टर सिटी हारबाट जोगिएको छ। घरेलु मैदानमा भएको प्रतिस्पर्धामा रोड्रिगोले ८३औँ मिनेटमा गोल फर्काएपछि सिटी चेल्सीलाई बराबरीमा रोक्न सफल भएको हो।
चेल्सीसँग १–१ को बराबरी भएसँगै सिटीले घरेलु मैदानमा अपराजित यात्रा कायम राखेको छ। तर उपाधि दौडमा केही धक्का लागेको छ।
उपाधि होडमा रहेका लिभरपुल र आर्सनलले जित दर्ता गर्दा सिटी भने अंक बाँड्न बाध्य भएको छ। शीर्षस्थानको लिभरपुलले २५ खेलबाट ५७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको आर्सनलले बराबरी नै खेलबाट ५५ अंक बनाएको छ।

























