बढ्न थाले पर्वतारोही, ४७ देशका ३९५ आरोहीले लिए अनुमति

काठमाडौं, ३० भदौ । यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथा सहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३ सय ९५ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यस याममा सगरमाथा सहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३ सय ५ पुरुष र ९० महिला छन् ।

यस पटक सबैभन्दा बढी मनास्लु हिमाल आरोहणमा आकर्षण देखिएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । गत वर्षको तुलनामा यस वर्ष धेरै आरोही आएका हुन् ।

विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको मनास्लु हिमाल आरोहणका लागि आजसम्म २६ आरोही समूहका २ सय ६० आरोहीले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा मनास्लु आरोहणमा १८ आरोही समूहका १९० आरोही गएका थिए । सगरमाथा आरोहणका लागि दुई आरोही समूहका १० आरोहीले आरोहण अनुमति लिएका छन् ।

त्यस्तै धौलागिरि हिमाल आरोहणका लागि दुई आरोही समूहका ३० जनाले अनुमति पाएका छन् । नेपालसहित ४७ देशका आरोही यस याममा हिमाल आरोहणमा निस्किएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस याममा हिमाल आरोहणबाट हालसम्म रु तीन करोड ९६ लाखभन्दा बढी सलामी दस्तुर जम्मा भएको छ । विभागको विवरणमा सन् २०१८ को शरद ऋतुमा १६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए ।

आरोही दशैँ र तिहारसम्म आउने भएकाले यस याममा पनि आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here