दूरसञ्चार प्राधिकरणले भन्यो- ‘टिकटक चलिरहेको भए तत्काल जानकारी गराउनू’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि अझै केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएकाले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिन भनेको हो।

सरकारको निर्णय कार्यान्वयन नगर्ने केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई स्पष्टिकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएको समेत प्राधिकरणले जानकारी दिएको छ।

सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले दिएको निर्देशन पालना नगरेको पाइए दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ।

‘साथै टिकटकमा पहुँच पुगिरहेको/टिकटक चलिरहेको भए प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्तो इन्टरनेट कम्पनीको बारेमा जानकारी गराउनुहुन समेत सबै इन्टरनेट सेवाग्राहीलाई अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here