वर्षाका कारण अवरुद्ध भएको अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं, ३१ भदौ । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ ।

‘‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुबैतर्फका उडान भने रोकिएको थिएन ।

डेढघण्टापछि अवरुद्ध अवतरण शुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले राससलाई जानकारी दिए । अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए ।

कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए । उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करीब ३०० आन्तरिक उडान–अवतरण हुँदैआएको छ ।

यसैबीच मौसमको खराबीका कारण लुक्लाबाट काठमाडौँका लागि उडेका सात हेलिकोप्टर विभिन्न स्थानमा आकस्मिक अवतरण भएका छन् ।

काभ्रेको पाँचखालमा चार र सिन्धुलीको नेपालथोकमा तीन हेलिकोप्टर अवतरण भएका काभे्रपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेलिकोप्टरमा सवार यात्रु सकुशल छन् । ती यात्रु अधिकांश विदेशी हुन् ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here