हवाई नीति संशोधन गर्न कार्यदल गठन, इयूले लगाएको उडान प्रतिबन्ध हटाउन पहल गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् । बुधबार सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनलेले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै पर्यटनमन्त्री तामाङले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

हवाई क्षेत्रलाई युरोपेली संघ (इयू)ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गरे । पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए ।

उनले भने, ‘नेपालको हवाई क्षेत्रमा इयूले सन् २०१३ देखि लगाएको उडान प्रतिबन्ध हटाउन योजनाबद्ध पहल गर्नेछु । यो चाँडैनै हट्छ भन्ने विश्वास लिएको छु ।’

इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै उडान सुरक्षा चासो (कालोसूची) मा राखेको थियो ।

सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो सूची (एसएससी)मा राखेकामा सन् २०१७ जुलाईदेखि हटाएको थियो । नेपालले पछिल्लो पटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको सुरक्षासूचीबाट हट्ने विश्वास गरिएको छ ।

मन्त्री तामाङले नेपालको हवाई सेवालाई सुदृढ र प्रभावकारी बनाउन योजनाबद्ध काम गर्ने विश्वास व्यक्त गरे । उनले सङ्घीयताको मर्म र भावना अनुरुप मुलुकको पर्यटन नीतिलाई समयसापेक्ष बनाइने विश्वास व्यक्त गरे ।

मन्त्री तामाङले पर्यटन व्यवसायी एवं विज्ञ सरोकारवालासँग छलफल गरेर पर्यटन क्षेत्रको विकास तथा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनेबारे योजनाबद्ध कार्यक्रम अगाडि बढाइने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here