महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रीले भने-‘अर्थतन्त्र सुधार्न निजी क्षेत्रको मनोबल बढाउँछौं’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार मात्रै अर्थमन्त्रालयको बागडोर सम्हालेका पुनलाई बिहीबार भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग उनले निजी क्षेत्रलाइ विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री पुनले कुनै समुदाय प्रति अपराधीजस्तो व्यवहार नगरिने बताए । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमाथि धरपकड भैरहेको बारे ध्यानाकर्षण गराएका थिए । मन्त्री पुनले पहिले अनुसन्धान पूरा नगरी थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायहरुसंग पनि समन्वय गरिने बताए ।

गल्ती गर्नेले सजाय पाउँछ तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न नहुने अर्थमन्त्रीको जिकिर थियो । ‘राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो,’ अर्थमन्त्री पुनले भने, ‘यो मेरो जिम्मेवारी हो । म यहाँहरुलाई हतोत्साही हुन दिन्न ।’

महासंघका अध्यक्ष ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताए । उनले विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना शहर र गाउसम्म रकम प्रवाह गर्न सरकारले पूँजीगत खर्च बढाउनुका साथै पुर्नकर्जा सुविधा विस्तार गर्नुपर्ने बताए

सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन,’ उनले भने, ‘त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ ।’

उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि मन्त्री पुन समक्ष आग्रह गरे । ढकालले अर्थमन्त्रीलाई कोभिड समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भैसकेको उदाहरण दिँदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताए ।

अध्यक्ष ढकालले मन्त्री पुनलाइ निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने बताए । ‘निजी क्षेत्र भन्नाले ठूलो उद्योग देखि गाउँको किराना पसलसम्म हो, अध्यक्ष ढकालले भने, सरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम हुनु हुँदैन र निजी क्षेत्रको मनोबल बढाउनुपर्छ ।’

यसैगरी, राजश्व कम उठिरहेको समयमा धरपकड गरि राजस्व उठाउने गरिएको बारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । चार वर्ष अगाडि राजश्वले टुंग्याएको बिषयलाई महालेखा परीक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा पनि अध्यक्ष ढकालले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

निजी क्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषयमा पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने जानकारी दिए । ‘सरकारले खर्च नगरी विश्वास बढने यस्ता बिषयमा कन्जुस्याइ गर्नु हुँदैन,’ उनले भने, ‘यी साना विषय जस्ता देखिए पनि यसले देशभरका सबै उद्यमी व्यवसायको हौसला बढाउँछ ।’

अध्यक्ष ढकालले जुनसुकै पार्टी भए पनि आर्थिक एजेन्डामा एकरूपता हुनुपर्ने माग गर्दै आइरहे को कुरा पनि अर्थमन्त्री लाइ अवगत गराए । उनले अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टि र पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताए ।

अध्यक्ष ढकालले बैंक वित्तीय संस्थामा पनि समस्या देखिएमा अर्थतन्त्रमा थप जटिलता बढने तर्फ सजग गराउँदै यसको संवेदनशीलता बुझ्न आग्रह गरे । ‘बैंक वित्तिय संस्थाको ऋण तिर्नु नपर्ने भनि गलत प्रचार प्रसार भैरहेको छ,’ अध्यक्ष ढकालले भने, ‘यसमा सरकार सचेत हुनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here