‘कांग्रेसबाट धोका हुने परिस्थिति बनेर नयाँ गठबन्धनमा गएका हौं’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट पारेका छन् ।

आइतबार बिहान पोखरामा पार्टीका नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

दाहालले अघल्लो सत्ता गठबन्धनमा कांग्रेसबाट धोका भएको बताए । ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन,’ उनले भने, ‘एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं ।’

दाहालले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेका पनि जनाएका छन् । ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ,’ दाहालले भने, ‘पूर्वदेखि पश्चिमसम्मको तराई-मधेशलाई समेटेर एउटा अभियान चल्नेछ । हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।’

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले स्पष्ट गरे। उनले भने, “कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशको राजनीति सही बाटोमा आएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here