काठमाडौं २, असोज । आर्थिक वर्ष २०७५/७६ मा १३ अर्ब ७ करोड रुपैयाँबराबर प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षको तुलनामा एफडीआई २५ प्रतिशतले घटेको हो ।
आर्थिक वर्ष ०७४/७५ मा यस्तो लगानी ३० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सो अवधिमा कुल १७ अर्ब ५५ करोड रुपैयाँ बराबर विदेशी लगानी नेपाल भित्रिएको थियो ।
राजनीतिक स्थिरतासँगै नीतिगत सुधार भएकाले विदेशी लगानी बढ्ने सरकारले बताउदै आएको छ । तर, अझै लगानीकर्ता विश्वस्त हुने आधार विकास भइनसकेकाले विदेशी लगानी बढ्न नसकेको अर्थविद्हरू बताउँछन् ।
विदेशी लगानीकर्ताले नेपालको लगानी वातावरणप्रति विश्वस्त हुन नसकेकाले अपेक्षित लगानी नआएको उनीहरुको भनाइ छ ।
गत वर्ष सुरुदेखि नै लगानी उच्च दरले घट्यो । जसमध्ये अघिल्लो वर्षको तुलनामा ०७५ असारमा कुल विदेशी लगानी साढे ९३ प्रतिशतले घट्यो । त्यसपछिका महिनामा यस्तो वृद्धिदर निरन्तर रूपमा घटिरह्यो ।
गत चैतसम्म आइपुग्दा विदेशी लगानीको वृद्धिदर करिब ५१ प्रतिशतले ऋणात्मक थियो । त्यसपछिका महिनामा विदेशी लगानीको वृद्धिदर घटे पनि सुधार भएन । यसकारण गत वर्षभरी नै विदेशी लगानी वृद्धिदर ऋणात्मक रह्यो ।
गत वर्ष सबैभन्दा बढी १७ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी आयो । त्यसअघिका दुई वर्ष क्रमशः १३ अर्ब ५० करोड रुपैयाँ र ५ अर्ब ९२ करोड रुपैयाँ विदेशी लगानी आएको थियो ।
खासगरी जलविद्युत पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा विदेशी लगानीको ठूलो सम्भावना छ ।