राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि दीपक र सन्तोषीलाई

काठमाडौं । तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न तेस्रो संस्करणको हाफ म्याराथनमा गतवर्ष विजेता समेत रहेका दीपक अधिकारीले १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै लगातार दोस्रोपटक उपाधि जिते ।

महिलातर्फको उपाधि वाग्मतीकी सन्तोषी श्रेष्ठले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । सन्तोषी भने पहिलो संस्करणकी च्याम्पियन हुन् । दशरथ रंगशालाबाट सुरू भएको हाफ म्याराथन भक्तपुरको राधेराधे पुगेर सोही रूटबाट फर्किएको थियो । एपिएफका गोपिचन्द्र पार्की ९ सेकेण्डले मात्र पछि रहँदा दोस्रो स्थानमा खुम्चिए । पार्कीले एक घण्टा सात मिनेट ४२ सेकेण्ड समय लगाएका थिए ।

पर्वतका तीर्थ पुन तेस्रो स्थानमा रहे । उनले एक घण्टा सात मिनेट ४३ सेकेन्डमा दुरी पूरा गरे । नेपाल पुलिसकी राममाया बुढा दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् ।

राममायाले एक घण्टा २१ मिनेट ५६ सेकेन्ड र पुष्पाले एक घण्टा २३ मिनेट दुई सेकेण्ड समय लगाइन् ।

महिला र पुरूष दुवैमा हाफ म्याराथन विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौं स्थान प्राप्त गर्नेले ३० हजार रूपैयाँ पाए ।

१० किलोमिटर पुरूषतर्फ खुलामा आर्मीले वर्चस्व जमायो । आर्मीकी खेलाडीले पहिलोदेखि पाँचौं स्थानसम्म प्राप्त गरे । आर्मीका मुकेश पाल, सञ्जय श्रेष्ठ, गजेन्द्र राई, सुवाष कार्की र श्रीकाश राईले शीर्ष पाँच स्थान प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here