१८ वर्ष मुनिका डिस्को, बार प्रवेश गर्न नपाउने, ग्राहक मापसेले अचेत भए घर पुर्‍याइदिनुपर्ने

काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुल्ला गर्ने सन्दर्भमा गृह मन्त्रालयमा आज सरोकारवालासँग छलफल गरिएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा भएको छलफलमा पूर्ण समयमा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिमा भएका प्रावधानबारे काठमाडौँका सिडिओ जितेन्द्र बस्नेतले जनकारी गराएका थिए ।

जसमा दोहोरी साँझ, नाइट क्लबलगायत रात्रिकालीन मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीको लागि २४ सैँ घण्टा खुल्ला गर्ने सन्दर्भमा रक्सी पिएर अचेत भएका ग्राहकलाई व्यवसायीले नै घर पुर्‍याइदिनुपर्ने लगायतका नयाँ नियम आएको हो ।

राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वनी नियन्त्रण ‘साउन्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने छ । बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको छ ।

श्रमिकको नाम थर ठेगानासहितको व्यक्तिगत विवरणको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी साँझ, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लब र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन पाइने छैन ।

कार्यविधिमा अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्‍याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

कलाकारहरूले गायन तथा पर्दशन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने संहितामा छ । डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अस्लीलता प्रदर्शन नहुने गरी स्वस्थ मनोरञ्जन दिने गरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने समेत उल्लेख गरिएको छ ।

व्यवसायी उपभोक्ता, श्रमिकले पालना गर्नुपर्ने आचारसंहितामा नाबालिकलाई कुनैपनि व्यापार व्यवसायमा राख्न नपाउने व्यवस्था गरिएको छ । भने, नाबालिक तथा नाबालिकलाई सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । श्रमिकलाई नियुक्ति पत्र, पोसाक, परिचयपत्र, रात्रिकालीन भोजन, रात्रिकालीन समयमा निवाससम्म पुग्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड राखिएको छ ।

श्रमिकलाई रात्रिकालीन समयमा वासस्थानसम्म पुर्या‍उनुपर्ने व्यवस्था मिलाउनुपर्ने पनि भनिएको छ । व्यवसायस्थलमा यौन तथा यौन उत्पीडन-शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने, श्रमजीवी महिला तथा कर्मचारीले पोसाक परिवर्तन गर्ने कोठामा सीसीटीभी राख्न नपाइने व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here