उपनिर्वाचनका लागि आचारसंहिता लागू, उल्लंघन गर्नेलाई तत्कालै कारबाही हुने

काठमाडौं । आगामी बैशाख १५ गते हुने उप-निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गर्दैछ। आयोगले प्रतिनिधिसभातर्फ इलाम-२ र प्रदेशसभातर्फ बझाङ-१(१)मा हुन लागेको उपनिर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो।

आचारसंहिता आजदेखि चुनाव सम्पन्न नभएसम्म लागू हुनेछ । आयोगका अनुसार स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा चुनाव सम्पन्न लागू गरिएको आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, सङ्घीय कार्यपालिका र सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय र सुरक्षाकर्मी तथा कर्मचारी, राजनीतिक दल तथा दलका भ्रातृ सङ्गठन र उम्मेदवार तथा सम्बन्धती व्यक्तिलगायतलाई लागू हुनेछ । आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्कालै कारबाही हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय समेत गरेको छ।

यस्तै बैठकले वैशाख २ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपचुनाव हुने जिल्लाभित्र जाँड-रक्सी वितरण तथा प्रयोगलाई नियन्त्रण गर्ने/गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ।

यस्तै, आयोगले उपचुनाव हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह समेत गरेको आयोगका प्रवक्ता शालग्राम शर्मा पौडेलले जानकारी दिए। मतदान भने बैशाख १५ गते शनिबार हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here