माइतीघर–बानेश्वर निषेधाज्ञा हट्यो, सार्वजनिक सम्पत्तिमा क्षति गरे आयोजकलाई जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको छ । सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । सुरूमा २ महिनाका लागि भनेर जारी गरिएको निषेधाज्ञा पटक पटक थप भएको थियो ।

निषेधाज्ञा हटाएसँगै उपप्रधान तथा गहृमन्त्री रवि लामिछानेले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति ताडफोड भए आयोजकबाट क्षतिपूर्ति भराउने निर्णय गरेका छन् ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संविधान र प्रचलित कानुन प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने निषेधित क्षेत्र कम गर्ने काम भइरहेको बताएको छ । साथै सरकारी एवं सार्वजनिक सम्पत्ति र व्यक्तिगत हानी नोक्सानी पुर्‍याए स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने बताएको छ ।

स्थानीय प्रशासन ऐनमा सार्वजनिक वा व्यक्तिगत सवारी, घर वा सम्पत्ति तोडफोड, आगजनी वा लुटपाट गरी क्षति पुर्‍याए प्रमुख जिल्ला अधिकारीले कसूर हेरी १० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय र हानी नोक्सानीको बिगो असुल गरी बिगो बराबर जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here