कांग्रेस-समाजवादी र नाउपाको बन्यो समीकरण, लक्ष्मण किशोरले पेश गरे मुख्यमन्त्रीमा दाबी

काठमाडौं । सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पदसहित भौतिक पूर्वाधार मन्त्रालय पार्टीलाई दिने सहमति भएसँगै नाउपाभित्र दुई गुटबीच नेतृत्व हत्याउने होडबाजी सुरु भएको छ ।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको निर्णय विपरित मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नाउपासहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका गरी २७ सांसदको साथ आफूलाई रहेको चौधरीको दाबी छ। पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेकी छिन् ।

यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् ।

प्रदेश प्रमुख मियाले भने नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको जानकारीसहितको पत्र प्रदेशसभाबाट प्राप्त भएकाले आफूले कानुनी परामर्शपछि मात्र निर्णय लिने जवाफ दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here