निजी विद्यालयले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने

काठमाडौं । निजी विद्यालयहरूले वर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै विद्यालयहरूले वर्षेनी भर्ना शुल्क लिन नपाउने कानुनी व्यवस्था रहेको स्मरण गराएको हो ।

विद्यालयमा अध्ययनरत पुराना विद्यार्थीहरूलाई पनि हरेक वर्ष भर्ना शुल्क लिने गरेपछि महानगरले सूचनामार्फत सबैलाई कानुनी व्यवस्था सम्झाएको हो ।

नयाँ विद्यार्थीको हकमा एउटा विद्यार्थीको हकमा एक पटक मात्रै भर्ना शुल्क लिन पाइने महानगरले जनाएको छ । महानगरका अनुसार विद्यालयहरूले भर्ना शुल्क पनि जथाभावी लिन पाउने छैनन् । निजी विद्यालयहरूले भर्ना शुल्क लिँदा एक महिनाको मासिक शुल्कभन्दा बढी लिन नपाउने महानगरले जनाएको छ ।

‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५, शिक्षा व्यवस्थापन नियमावली २०७४ तथा संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ मा विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको विद्यार्थी शुल्कको १ महिनाको भन्दा बढी लिन पाइने छैन भन्ने व्यवस्था छ । सोही निर्देशिकामा कुनै कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा भर्ना शुल्क लिन पाइने छैन,’ महानगरद्धारा जारी सूचनामा भनिएको छ ।

भर्नाको नाममा प्रचलित कानुनभन्दा बढी शुल्क लिएका कारबाही गर्ने महानगरले चेतावनी दिएको छ । ‘…केही संस्थागत विद्यालयले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरित विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिएको पाइएमा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा ऐन २०७५, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ तथा प्रचलित ऐन नियम बमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ,’ महानगरले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here