एभरेष्ट बैंककाे खुद नाफाभन्दा वितरणयोग्य नाफा धेरै

काठमाडौं । अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको बेला एभरेष्ट बैंकको भने खुद नाफाभन्दा धेरै रहेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २ अर्ब ६० करोड ८४ लाख रुपैयाँ छ ।

जबकि यही अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ छ । जसबाट बैंकले प्रतिसेयर ३१.१७ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

चालु आवमा एभरेष्टले गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ५.७७ प्रतिशतले बढाउन सफल भएको छ । गत वर्ष चैतसम्म बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै नाफामा सुधार देखिएको हो । समीक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी ०.७२ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंककोे संचालन नाफा ५.७८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्ममा बैंकले २ खर्ब १४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। हाल ११ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंककोे सेयर प्रिमियममा २३ करोड ८४ लाख, रिटेन्ड अर्निङमा २ अर्ब ७५ करोड रुपैयाँ र जगेडा कोषमा ११ अर्ब ९२ करोड रुपैयाँ सञ्चित छ ।

नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानीमा झिनो गिरावट आएको छ । समीक्षा अवधिमा बैंककोे प्रतिसेयर आम्दानी ३०.७४ रुपैयाँबाट घटेर २९.५५ रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७० प्रतिशत, प्रतिसेयर नेटवर्थ २२६.७३ रुपैयाँ, बेसरेट ८.१३ प्रतिशत, सीडी रेसियो ८३.५० प्रतिशत, स्प्रेडदर ४ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here