पहिलो महिनामै झण्डै १ खर्ब व्यापार घाटा, गत वर्षको भन्दा १४ प्रतिशत कम

काठमाडौं ६, असोज । चालू आर्थिक वर्षको पहिलो महिनामै मुलुकको व्यापार घाटा झण्डै एक खर्ब रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो महिनाको तुलनामा असारको व्यापार घाटा करिब १४ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७५÷७६ को पहिलो महिनामा यस्तो व्यापार घाटा १ खर्ब १३ अर्ब रुपैयाँ थियो ।

राज्यमा आन्तरिक उत्पादन बढेर ब्यापार घाटा कम भएको होइन । सरकारले विभिन्न वस्तु तथा सेवामा आयातमा कडाई गरेकाले गत वर्षको भन्दा व्यापार घाटा कम भएको हो ।

असारमा १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत वर्षको तुलनामा आयात पनि साढे ११ प्रतिशतले कम हो । अघिल्लो वर्षको असारमा १ अर्ब २० करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

आयात र व्यापार घाटा वृद्धिदर घटेपनि असारमा निर्यातमा भने सुधार देखिएको छ । चालू आर्थिक वर्षको असारमा ८ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ९२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

पहिलो महिनामा कुल १ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

यसैगरी, गत असारमा आयात निर्यात अनुपात २१ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात साढे १७ प्रतिशत थियो ।

कुल वैदेशिक व्यापारमा आयातको अंश ९२.४ प्रतिशत र निर्यातको अंश ७.६ प्रतिशत थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here