नेपाल पुनर्बीमा कम्पनी साढे ४७ करोड घाटामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी नोक्सानीमा गएको छ । बुधबार सार्वजनिक चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ४७ करोड ५६ लाख ५२ हजार रुपैयाँ घाटामा छ ।

जबकि गत वर्ष पहिलो पहिलो त्रैमासमा कम्पनीले १८ करोड ८९ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क संकलन र लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी घट्दा र खर्च बढ्दा घाटामा गएको हो ।

समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क संकलन ३४.८५ प्रतिशतले घटेर १ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष पहिलो त्रैमासमा कम्पनीले २ अर्ब १९ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको लगानी तथा ऋणबाट हुने आम्दानी १ करोड ६० लाख रुपैयाँ घटेर ४० करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ५४ करोड बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कमिसन खर्च २९ करोड ६२ लाख रुपैयाँबाट बढेर ६७ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

हाल १२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ८३ करोड रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ७४ लाख र रिटेन्ड अर्निङमा १९ करोड ६९ लाख रुपैयाँ संचित छ ।

नोक्सानीमा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३.७ रुपैयाँ ऋणात्मक भएको छ । प्रतिसेयर नेटवर्थ १३९.१४ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here