रेमल चक्रवातले भारत र बंगलादेशमा १६ जनाको ज्यान लियो, ८४ लाख प्रभावित

काठमाडौं । रेमल चक्रवातले भारत र दक्षिणी बंगलादेशको तटीय क्षेत्रका कम्तीमा १६ जनाको मृत्यु भएको छ । जसमा बंगलादेशका १० र भारतका ६ जना छन् ।

उक्त क्षेत्रमा ११० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका कारण तल्लो क्षेत्र जलमग्न भएको थियो।

आइतबार साँझ आएको रेमाल आँधीका कारण करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय अधिकारीहरुका अनुसार ३६ लाख बालबालिकासहित करिब ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन्।

बंगलादेशको मोङ्ला बन्दरगाह र भारतको पश्चिम बङ्गालको सागर टापु हुँदै आइतबार आएको आँधीले अर्को दिन कमजोर बनाएको थियो।

बङ्गलादेशका विपद्मन्त्री मोहिबबुर रहमानले चक्रवातका कारण कम्तीमा १० जनाको मृत्यु भएको जनाएका छन्। कोही डुबेर मरेका छन् भने कोही भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएका छन्।

कुल ३७ लाख ५० हजार मानिस प्रभावित भएका छन्। ३५ हजार ४ सय ८३ घर ध्वस्त भएका छन् भने १ लाख १५ हजार ९ सय ९२ घरमा क्षति पुगेको छ।