अमेजनका माछा नेपालका नदीमा

काठमाडौं । मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो ।

नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थाल्नुभएको थियो । पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उनीहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गर्नुभयो ।

यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टि गर्दै अनुसन्धानकर्ताद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अङ्कमा छापिएको छ । स्तरीय मानिएको (क्यू टु) उक्त विज्ञान पत्रिकामा उल्लेख भएअनुसार लोहन्द्रा खोलाबाट यस माछाका ४३ वटा नमूना सङ्कलन गरिएका थिए ।

पूर्वी नेपालका तमोरलगायत स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई स्थानमा यो प्रजाति र यही जातको अर्को प्रजाति भने दमकतिरका खोलाहरुमा भेटिएको लेखमा उल्लेख छ । हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमूना सङ्कलित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here