‘फ्लोर क्रस’ गर्ने देवकोटामाथि माओवादीको कारबाही, गुम्यो सांसद पद

काठमाडौं । फ्लोर क्रस गरेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेकपा (माओवादी केन्द्र)का सांसद फणीन्द्र देवकोटा पदमुक्त भएका छन्।

गण्डकी प्रदेश सभाको शुक्रबार अपराह्न ४ बजे बसेको बैठकमा सभामुख कृष्णप्रसाद धितालले सांसद देवकोटालाई कारबाही गरिएको सम्बन्धी जानकारी गराएका छन्।

माओवादी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरिएको पत्र शुक्रबार नै प्रदेश सभा सचिवालयलाई दिएका थिए।

त्यही पत्र सभामुख धितालले पढेर सुनाएका हुन्। प्रदेश सभा नियमावलीको नियम २०७ मा यस सम्बन्धी व्यवस्था छ। त्यसमा भनिएको छ, ‘दल त्याग सम्बन्धी सूचना प्राप्त भएमा सभामुखले सोको जानकारी सभाको बैठकलाई दिनुपर्नेछ र बैठक चालू नरहेको अवस्थामा त्यस्तो सूचना सचिवालयको सूचना पाटीमा टाँस्न लगाउनुपर्नेछ।’

प्रदेश सभाको बैठक चालू रहेकाले सभामुख धितालले पढेर सुनाएका हुन्। सभामुखले सभालाई जानकारी गराएसँगै सांसद देवकोटा पदमुक्त भएका छन्।

माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क)बाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले जेठ २८ गते फ्लोर क्रस गरेर पाण्डेलाई विश्वासको मत दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here