भिजिट भिसामा फेरि कडाइ, एक हप्तामा ५ सयभन्दा धेरै विमानस्थलबाटै फिर्ता

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले नयाँ नीतिगत निर्णयबिना नै भिजिट भिसामा फेरि कडाइ गरेको छ ।

अध्यागमनले पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई विमानस्थलबाटै फर्काइदिएको छ । उनीहरूको टिकटबापत मात्रै कम्तीमा एक करोड रुपैयाँ गुमेको छ । विमानस्थलबाट फर्काइएकामा धेरै जना महिला रहेका छन् ।

अध्यागमनले गत माघ ९ देखि जारी गरेको कार्यविधिअनुसार मापदण्ड पुगेकालाई अफलोड गर्न थालेको हो । अध्यागमनले जेठ ३० मा ५५ जना, ३१ मा ६२, ३२ मा २ सय ३७ र असार १ मा (शनिबार) बिहानसम्म ५४ जनालाई अफलोड गरेको छ ।

सरकारले पछिल्लोपटक ल्याएको कार्यविधिमा छ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने देश भए भिसा नचाहिने, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी वा गैरसरकारी संस्थाको निमन्त्रण पत्र वा त्यो नभएमा कम्तीमा पाँच सय डलर बराबरको नगद सटही भएको प्रमाण भएमा भिजिट भिसामा विदेश जान पाइने व्यवस्था छ ।

यस्तै संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here