८२५ शिक्षकले त्यागे दलीय सदस्यता, ४१ जनासँग स्पष्टीकरण माग

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले १०० दिनको अवधिमा ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको जानकारी दिएकी छन् । मन्त्री भएको १०० दिनमा गरेको कामबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरेकी मन्त्री श्रेष्ठले हालसम्म ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको जानकारी दिइन् । शिक्षामन्त्री श्रेष्ठले चैतमा शिक्षकहरुलाई राजनीतिक आवद्धता त्याग्न निर्देशन दिएकी थिइन् ।

साथै कुनै शिक्षक दलमा आवद्ध भए उजुरी दिन समेत आह्वान गरेकी थिइन् । ४५ शिक्षक विरुद्ध मन्त्रालयमा उजुरी आएकामा ४१ जनासँग स्पष्टीकरण लिइएको र चार जनाले सफाइ पाएको बताइन्।

“गुणस्तरीय शिक्षाका लागि हामी सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता छ। मैले नेतृत्व सम्हालेपछि त्यही भावनाका साथ काम शुरू गरिएको छ। त्यसको परिणाम पनि बिस्तारै देखिन थालेको छ। अहिले शिक्षकहरूले पनि हाम्रो उद्देश्य बुझेर सदस्यता त्याग्न थाल्नुभएको छ। अन्तिमसम्म पनि त्यो निर्णय कार्यान्वन गर्न म प्रतिबद्ध छु,” उनले भनिन्।

उनले विश्वविद्यालयमा नियुक्ति गर्दा योग्यताक्रमलाई आधार मान्न थालिएको पनि बताइन्। यस्तै, विद्यार्थीको परिचयपत्र नम्बरलाई शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गरिने बताउँदै उनले पाठ्यपुस्तक पुनःप्रयोगका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको, करिअर परामर्श कार्यक्रम सञ्चालन गरिएको, पाठ्यक्रममा जनसहभागिता, दिवा खाजालाई प्रभावकारी र गुणस्तरयुक्त बनाउन पहल गरिएको, राष्ट्रिय परीक्षा बोर्डको नतीजा प्रकाशनको तालिका बनाइएको समेत उल्लेख गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here