रास्वपाको २ वर्षे समीक्षा-‘गन्तव्य स्पष्ट छ, बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रवि लामिछानेले पार्टीका सांसदले सदनको र मन्त्रीहरूले देशको ध्यान तानिरहेको बताएका छन्। पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा उनले रास्वपा हल्ला नै नगरी सिंहदरबारभित्र पसिसकेको टिप्पणी गरेका छन्।

देश तथा विदेशका टोलटोल, बस्तीबस्तीका आममान्छेको आवाज बोल्दाबोल्दै त्यो आवाजलाई घण्टीमा रुपान्तरण गरेर २ वर्षमा हल्ला नै नगरी सिंहदरबार पसिसकेको उल्लेख गरेका छन् ।

गृहमन्त्री लामिछानेले भनेका छन्, ‘गन्तव्य स्पष्ट छ । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिडिरहेका छौं । कैयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन ।’

उनले वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै यो यात्रा सम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले थपेका छन्, ‘विश्वास गर्ने एकदुई जनामात्र हुँदा त हिँड्ने आँट गरियो भने आज त हामीसँग लाखौंलाख शुभेच्छुकहरु हुनुहुन्छ। २ वर्षअघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कैयौं विश्लेषकहरु आज रास्वपा खस्कँदो छ भन्ने विश्लेषणवाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही टक शोमा बोल्न घाँटी र टाइ मिलाउँदै होलान् । तर, हामी हाम्रो यात्रामा अविचलित छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here