भन्सार छलेर ल्याइएका दशैंका कपडा बरामद

काठमाडौं, ११ असोज । प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ती कपडा बरामद गरेको हो ।

गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा कपडा बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । बूढानीलकण्ठ नगरपालिका– ५ विष्णुमतीमा बा५ ख ६९३९ नं को बसको हुटमुनी सोच्दै नसोचेको ठाउँमा फल्सबटम बनाएर ४० बोरा कपडा राखेर ल्याएको पाइएको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

“भन्सार छलेर ल्याइएको लाखौंँको कपडा बरामद भएको छ, कपडा ल्याउने व्यक्ति र चालक फरार रहेकाले खोजी जारी छ, योजनाबद्ध रुपमा कपडा ल्याइएको पाइयो, अन्य थप अनुसन्धान हुँदैछ”, प्रहरी निरीक्षक गिरीले भने । दशैं नजिकिएसँगै बजारमा तयारी पोशाकको माग समेत बढ्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here