नागढुङ्गा सुरुङमार्गको ७६ प्रतिशत काम सकियो

काठमाडौं । राष्ट्रिय गौरवको नागढुङ्गा सुरुङमार्गको तीनचौथाई काम सकिएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आइतबार गरिएको स्थलगत अनुगमनमा सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको समग्रमा ७६ प्रतिशत काम सकिएको जानकारी दिएका हुन् ।

त्यसैगरी, आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । आयोजनमा अहिले मुख्य सुरुङ लाइनिङ गर्ने काम भइरहेको छ । कुल २ हजार ६८८ मिटर मध्ये अब ५०० मिटर मात्र सुरुङ लाइनिङ गर्न बाँकी रहेको कोइरालाले जानकारी दिए ।

त्यसैगरी, सुरुङमार्गभित्र अक्सिजन, लाइट, भेन्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडानको काम भइरहेको उनले बताए ।

आयोजना अन्तर्गत हालसम्म तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास निर्माण सम्पन्न भइसकेको छ भने फ्लाइओभर निर्माण ६० प्रतिशत सम्पन्न भएको छ ।

प्रवक्ता कोइरालाका अनुसार चौडाइ (क्यारिज-वे) साढे ९ मिटरको हुने यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको मेडियन र आधा आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ ।

त्यस्तै, बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुखसम्म २३०७ मिटरमध्ये १९९५ मिटर सडक कालोपत्र भइसकेको छ । त्यसैगरी, धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको छ ।

आयोजनाका लागि पछिल्लो समय १८ महिना समय थप गरिएकोमा थप गरिएको १४ महिना अझै बाँकी रहेको छ । उक्त अवधिमा आयोजना सम्पन्न हुने विश्वास कोइरालाले व्यक्त गरे ।

आयोगका सदस्य डा फुयालका अनुसार आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) निर्माणलगायत केही चुनौती बाँकी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here