शुरु भयो बडा दशैं, आज घटस्थापना

काठमाडौं, १२ असोज । हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व बडा दशैं आजदेखि शुरु भएको छ । नेपालसहित विश्वका अधिकांश हिन्दु धर्मावलम्बीले यो पर्व निकै हर्षोउल्लाससहित मनाउँछन् ।

आज प्रतिपदाका दिन घटस्थापनाको नामबाट पनि चिनिन्छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडा दशैं पर्छ । घरबाट टाढा टाढा रहेका मानस आफन्तको साथमा आइपुग्छन् ।

दशमीको दिन ठूलाबडा मान्यजनको हातबाट टिका लगाउँछन् र आर्शिवाद लिन्छन् । मिठो खाने र राम्रो लगाउने चाडका रुपमा पनि दशैंको महिमा रहेको छ ।

बडादशैंको पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने प्रचलन रहेको छ ।

नेपाल पंचांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान १०ः३५ मा रहेको छ ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा र दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राख्ने प्रचलन रहेको छ । यो जमरा टिकाको दिन शिरमा लगाइन्छ ।

जौको अंकुर दुर्गा भगवतीको प्रिय वस्तु मानिन्छ । यसलाई समृद्धिको प्रतिक समेत मानिन्छ । आजदेखी हरेक दिन भगवतीको पूजा आरधना शुरु हुन्छ ।

नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा गर्ने प्रचलन रहेको छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । दशैंको टीका असोज २१ गते मंगलबार परेको छ ।

विजयादशमीका दिन बिहान ८ः४५ बजे देवी विसर्जन गरेपछि १०ः३५ को शुभ साइतमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्न सक्ने शुभ साइत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here