भारतका दुई महान क्रिकेटर विराट र रोहितले लिए टी-२० क्रिकेटबाट सन्यास

काठमाडौं । भारतलाई विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी–२० विश्वकपको फाइनल नै उनको टवान्टी–२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताए ।
रोहितले भने, यो मेरो अन्तिम प्रतिस्पर्धा थियो, मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।

रोहित शर्माले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहनेछन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको छ । पूरा प्रतियोगिता अपराजित रहेको भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराएको हो ।

भारतीय स्टार क्रिकेटर विराट कोहलीले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरे । भारतले विश्वकप उपाधि जितेसँगै कोहलीले संन्यासको घोषणा गरे । विश्वकप फाइनल खेलमा कोहलीको उत्कृष्ट प्रदर्शन रह्यो । दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाउँदा कोहली एक्लैले ५९ बलमा ७६ रन बनाए । उनी प्लेयर अफ द म्याचसमेत चुनिए ।

कोहलीले भने, यो मेरो आखिरी ट्वान्टी-२० विश्वकप थियो । हामी यही हासिल गर्न चाहन्थ्यौँ । एकदिन तपाईंलाई लाग्न सक्छ कि तपाईं रन बनाउन सक्नुहुन्छ तर यस्तै केही हुन्छ । भगवान् महान् छन् । यो अहिले र कहिल्यै पनि नहुने स्थिति हो । मैले भारतका लागि अन्तिम ट्वान्टी–२० खेल खेलेको हुँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here