काठमाडौं, १४ असोज । नेपालले सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आज जिम्बावेसँग खेल्दै छ ।
पहिलो खेल जिम्बावेसँग ५ विकेटले गुमाएको नेपालले दोस्रो खेलमा सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो ।
सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ ।
सिरिजमा प्रतिस्पर्धा गरिरहेका नेपाल, जिम्बावे र आयोजक सिङ्गापुरले समान २/२ खेलमा १ खेलमा जित र एक खेलमा हार सहित दुई–दुई अङ्क जोडेका छन् ।
आइतवार सिङ्गापुरले जिम्बावेलाई चार रनले पराजित गरेसंगै अङ्क तालिकामा नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा उक्लिएको छ । जिम्बावे दोस्रो तथा सिङ्गापुर तेस्रो स्थानमा छ ।
डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।
खेल नेपाली समयअनुसार आज साँझ ५ः१५ बजे हुनेछ ।