भदौ लागेसँगै घट्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । प्रतिक्रेट २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले बताएको छ । पछिल्लो पटक २८ असारमा तोकेको अन्डाको मूल्य सोमबारदेखि लागु हुनेगरी घटाएको हो ।

२८ असारमा सबैभन्दा ठूलो (एक्सएल) साइजको अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० रुपैयाँ, मिडियम साइजको अन्डा प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो ।

आइतबार बसेको संघको बैठकले सबैभन्दा ठूलो साइज अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकेको छ । यसैगरी ठूलो अन्डाको प्रतिक्रेट मूल्य ४ सय ८५ र मिडियम अन्डाको प्रतिक्रेट मूल्य ४ सय १५ रुपैयाँ तोकेको हो ।

अन्डा उत्पादक किसानहरूले उत्पादन लागत, माग र आपूर्तिका आधारमा मूल्य निर्धारण भएको हो ।

अन्डा ओसारपसार गर्दा फार्मको नाम र ठेगान उल्लेख भएको नयाँ कार्टुन प्रयोग गर्नुपर्ने तथा पुरानो र साधा कार्टुन प्रयोग नगर्ने निर्णय बैठकले गरेको संघका सचिव मदन पोखरेलले जानकारी दिए । संघले खुला सीमाको कारण सेतो अन्डा आयात भइरहेकोले नियन्त्रणका लागि पहल सरोकार पक्षसँग आग्रह गर्ने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here