नर्वे र संयुक्त राष्ट्र संघले २४ विद्यालयको पुनर्निर्माणमा ९१ करोड सहयोग गर्ने

काठमाडौं, १५ असोज । नर्वे र संयुक्त राष्ट्र संघले २४ विद्यालयको पुनर्निर्माणमा सघाउने भएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन दूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि बुधबार समझदारी भएको छ ।

नर्वे सरकारको करीब ८० लाख अमेरिकी डलर (रु. ९१ करोड) सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्नेछन् ।

परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा ९ तथा काठमाडौं र भक्तपुरमा एक–एक वटा विद्यालय पुनर्निर्माण हुनेछन् जसमा १ सय ४४ वटा कक्षाकोठा रहनेछन् । अपांगमैत्री यी विद्यालयमा शौचालय तथा खानेपानीको सुविधा हुनेछ ।

विद्यालय पुनर्निर्माण भएपछि करीब ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुने प्राधिकरणले बताएको छ । परियोजनाको अवधि सन् २०२१ नोभेम्बर (२०७८ मंसिर १४) सम्म रहेको छ ।

समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पिताम्बर घिमिरे, नर्वेजियन दूतावासका तर्फबाट नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसें र युनओपिएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रमपछि नर्वे सरकार तथा युनओपिएसलाई धन्यवाद दिंदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजनाको समयमै सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरे । प्राधिकरण भूकम्पपछिको पुनर्निर्माणमा विकास साझेदारहरुसँग समन्वय तथा मिलेर काम गर्दै आएको र गर्न तयार रहेको पनि उनले उल्लेख गरे ।

नर्वेका राजदूत जोहानेसेंले नर्वे सरकारको विद्यालय क्षेत्रप्रति दरिलो प्रतिबद्धता रहेको उल्लेख गर्दै भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण तथा युनओपिएससँग साझेदारी गर्न पाउँदा गर्व लागेको बताए ।

त्यसैगरी, पुनर्निर्माण प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पिताम्बर घिमिरेले परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा योगदान गर्नुका साथै दुई देशबीचको सम्बन्घमा पनि नयाँ आयाम थप्ने धारणा राखेका थिए ।

क्यालानानले पुनर्निर्माण प्राधिकरण र नर्वे सरकारसँग मिलेर विद्यालय पुनर्निर्माण गर्नु पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here