आज कृष्णजन्माष्टमी, देशभरका कृष्णमन्दिरमा घुँइचो

काठमाडौं। आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व। वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् ।

भगवान श्री कृष्णको आजकै दिनमा उनका मामा कंशले कैद बनाएर राखेका बुबा वासुदेव र आमा देवकीको कोखबाट जन्म भएको भन्ने मान्यता अनुसार यो पर्व मनाईदै आएको पाईन्छ ।

आज देशभरका कृष्ण मन्दिरहरुमा भक्तहरुको घुइचो लाग्ने गर्छ । आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ। पाटन कृष्ण मन्दिरमा राष्ट्रपति दर्शनका लागि आजको दिन जाने चलन छ ।

यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । ज्योतिषशास्त्र अनुसार सूर्य ग्रहबाट भगवान राम अवतार, मंगल ग्रहबाट नृसिंह अवतार चन्द्र ग्रहबाट कृष्णको जन्म भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here