नाडा अटो शो २०२४ शुरु,एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्ड प्रदर्शनमा

काठमाडौं । नाडा अटो शो २०२४ मंगलबारदेखि शुरु भएको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १६औं संस्करणको अटो शोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका हुन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा हुने सवारी साधानहरुको उक्त मेला ६ दिनसम्म चल्नेछ।

यस बर्षको अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने आयोजकले जानकारी दिएका छन्। १३० वटा स्टलमध्य २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको छ ।

प्रदर्शनीमा विभिन्न २४ वटा ब्राण्डका चार पांग्रे, १० ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन गरिने ‘नाडा अटो शो’ समितिका संयोजक अनुपकुमार बरालले बताए।

नाडा अटो शोमा सवारीसाधन तथा लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स, विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, हेल्मेट, ग्यारेज र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरुको ३३ कम्पनीहरू रहने छन् ।

यस वर्षको‘नाडा अटो शो’ मा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल प्रदर्शनीका लागि राखिएको छ। एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउने भएकोले विद्युतीय सवारी आजको मूख्य आकर्षण रहेको बताइएको छ।

शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here